काठमाडौं । सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) ले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार बसेको फूलकोर्ट बैठकले संविधान र कानुनको सर्वोच्चताप्रति आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको स्पष्ट पारेको छ। साथै, संविधानको सर्वोच्चता र कानुनी शासनप्रति गम्भीर हुन सबैलाई आग्रह गरेको छ।

ADVERTISEMENT

सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयमा पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढंगले संविधान तथा कानुनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

ADVERTISEMENT

सञ्चारमाध्यममा आएका समाचारबारे हुने छानबिन तथा अनुसन्धानमा कानुनबमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहिता र सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको पनि अदालतले जनाएको छ।

न्यायपालिका जनताको आस्था र विश्वासमा अडिने संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्दा आम नागरिक र सेवाग्राहीमा भ्रम तथा नकारात्मक असर नपर्ने विषयमा सचेत रहन बैठकले आग्रह गरेको छ।

छानबिनको निष्कर्ष नआउँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई नियमित रूपमा न्यायिक कार्यमा सक्रिय रहन सबै अदालतमा कार्यरत न्यायाधीश तथा कर्मचारीलाई फूलकोर्टले आग्रह गरेको छ।