काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको सिमेन्ट निर्यात परिमाणमा उल्लेख्य गिरावट आएको छ। भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सिमेन्ट निर्यात परिमाण ८०.५ प्रतिशतले घटेको हो। तर निर्यातबाट प्राप्त आम्दानी भने ३४.८ प्रतिशतले मात्रै घटेको छ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ६२ हजार २९ टन सिमेन्ट निर्यात गरी ४१ करोड ९२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तीन लाख १८ हजार ७६३ टन सिमेन्ट निर्यातबाट ६४ करोड ३३ लाख २० हजार रुपैयाँ आम्दानी भएको थियो।

ADVERTISEMENT

निर्यात परिमाणमा ठूलो गिरावट आए पनि आम्दानी तुलनात्मक रूपमा कम घट्नुको कारण प्रतिटन सिमेन्टको औसत निर्यात मूल्यमा भएको वृद्धि हो। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा प्रतिटन औसत निर्यात मूल्य करिब २ हजार १८ रुपैयाँ रहेकामा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर करिब ६ हजार ७५९ रुपैयाँ पुगेको छ।

ADVERTISEMENT

औसत निर्यात मूल्यमा भएको वृद्धिले निर्यात हुने सिमेन्टको प्रकार वा बजार मूल्यमा परिवर्तन आएको संकेत गर्छ। कम मूल्यको पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पीपीसी) को तुलनामा बढी मूल्यको अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) को निर्यात हिस्सा बढ्नु यसको सम्भावित कारण हुन सक्छ। यद्यपि, भन्सार विभागले सिमेन्टको प्रकारअनुसार छुट्टाछुट्टै तथ्यांक नराख्ने भएकाले यसको वास्तविक कारण यकिन गर्न कठिन छ।

आर्थिक वर्ष २०८२/८३ मा नेपालले नौ लाख २३ हजार ३७६ टन सिमेन्ट निर्यात गरी दुई अर्ब तीन करोड रुपैयाँ आम्दानी गरेको थियो। त्यसअघि आर्थिक वर्ष २०८१/८२ मा तीन लाख ५६ हजार ४७३ टन सिमेन्ट निर्यातबाट दुई अर्ब २१ करोड रुपैयाँ आम्दानी भएको थियो।

आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट निर्यात परिमाण अघिल्लो वर्षको तुलनामा पाँच लाख ६६ हजार ९०३ टन अर्थात् करिब १५९ प्रतिशतले बढेको थियो। तर निर्यातबाट प्राप्त आम्दानी भने १८ करोड ३३ लाख रुपैयाँ अर्थात् ८.३ प्रतिशतले घटेको थियो। सो अवधिमा प्रतिटन औसत निर्यात मूल्य करिब ६ हजार २२३ रुपैयाँबाट घटेर २ हजार १९९ रुपैयाँमा झरेको थियो।

पछिल्ला वर्षहरूमा नेपाली सिमेन्ट निर्यातमा ठूलो उतारचढाव देखिँदै आएको छ। उद्योगीहरूका अनुसार भारतमा सिमेन्टको गुणस्तर प्रमाणीकरणसम्बन्धी समस्या निर्यातमा देखिएको प्रमुख चुनौती हो। नेपालबाट निर्यात हुने सिमेन्टको बजार भारतमा केन्द्रित छ।

आर्थिक वर्ष २०८०/८१ मा नेपालले २३ लाख ३० हजार टन सिमेन्ट निर्यात गरी एक अर्ब ९७ करोड रुपैयाँ आम्दानी गरेको थियो। त्यसपछिको आर्थिक वर्ष २०८१/८२ मा निर्यात घटेर तीन लाख ५६ हजार ४७३ टनमा सीमित भएको थियो। आर्थिक वर्ष २०८२/८३ मा भने निर्यात पुनः बढेर नौ लाख २३ हजार ३७६ टन पुगेको थियो।

तयारी सिमेन्टको निर्यातमा उतारचढाव देखिए पनि क्लिंकर निर्यातमा भने वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालले पाँच लाख ६१ हजार १२६ टन क्लिंकर निर्यात गरी ७९ करोड ७८ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो आर्थिक वर्षमा चार लाख ९० हजार २७२ टन क्लिंकर निर्यातबाट ६९ करोड ७३ लाख ८० हजार रुपैयाँ आम्दानी भएको थियो।

यस अवधिमा क्लिंकर निर्यात परिमाण १४.५ प्रतिशत र आम्दानी १४.४ प्रतिशतले बढेको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि क्लिंकर निर्यातबाट प्राप्त आम्दानी बढेको छ। उक्त अवधिमा १७ करोड ३० लाख ४० हजार रुपैयाँ बराबरको क्लिंकर निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १५ करोड १६ लाख ३० हजार रुपैयाँ रहेको थियो।