काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरु (आरसीबी) ले लगातार दोस्रो सिजन उपाधि जित्दै आफ्नो प्रभुत्व कायम राखेको छ। अहमदाबादमा सम्पन्न फाइनल खेलमा आरसीबीले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक ट्रफी उचालेको हो।
उपाधिसँगै आरसीबीले २० करोड भारतीय रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता गुजरात टाइटन्सले १२ करोड ५० लाख रुपैयाँमा चित्त बुझाएको छ।
फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो। टोलीका लागि वासिङ्टन सुन्दरले अविजित ५० रनको योगदान दिए। आरसीबीका रसिक सलामले ३ विकेट लिए भने भुवनेश्वर कुमार र जोस हेजलवुडले समान २–२ विकेट हात पारे।
१५६ रनको लक्ष्य पछ्याएको आरसीबीले १८ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। ओपनर विराट कोहलीले अविजित ७५ रन बनाएर टोलीलाई जित दिलाए। वेंकटेश अय्यरले ३२ रन, रजत पाटीदारले १५ रन तथा टिम डेभिडले २४ रनको योगदान दिए।
यस सिजन व्यक्तिगत प्रदर्शनतर्फ भने राजस्थान रोयल्सका १५ वर्षीय युवा खेलाडी वैभव सूर्यवंशी छाए। उनले ७७६ रन बनाएर ओरेन्ज क्याप जिते। साथै मोस्ट भ्यालुएबल प्लेयर, इमर्जिङ प्लेयर अफ द सिजन र सुपर स्ट्राइकर अफ द सिजनको अवार्ड पनि आफ्नो नाममा पार्न सफल भए। सूर्यवंशीले सिजनभर ७२ छक्का प्रहार गर्दै सर्वाधिक छक्का हान्ने खेलाडीको कीर्तिमान पनि बनाए।
त्यस्तै गुजरात टाइटन्सका कागिसो रबाडाले २९ विकेट लिएर सर्वाधिक विकेटकर्ताको सम्मान प्राप्त गरे।






