काठमाडौं। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज पहिलो चरणमा तीन वटा सहकारी संस्थाका ३ सय ७८ जना बचतकर्तालाई रकम फिर्ता गरेको हो ।

समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना तथा पशुपति सहकारीका सात जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन् ।

समितिले पहिलो दिन थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको जनाएको छ । आगामी दिनमा बचतकर्ताको रकमका आधारमा वर्गीकरण गर्दै चरणबद्ध रूपमा रकम फिर्ता गरिने जानकारी पनि समितिले दिएको छ ।

ADVERTISEMENT

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हाल समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् ।

ADVERTISEMENT

समितिले पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई साना बचतकर्ता तथा पाँच लाखभन्दा बढी बचत गर्नेहरूलाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरेको छ । कुल ७६ हजार बचतकर्तामध्ये १८ हजार जनाको बचत पाँच लाख रुपैयाँभन्दा बढी रहेको जनाइएको छ ।

ADVERTISEMENT

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचतकर्ताको रकम फिर्ता गर्न सहकारीहरूको ऋण असुली प्रक्रिया समेत तीव्र पारिएको बताए उनका अनुसार समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरिएपछि ऋण फिर्ता गर्ने क्रम बढेको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म ऋणीहरूबाट दुई करोड रुपैयाँभन्दा बढी ऋण असुली भएको जनाएको छ । समितिका अनुसार ऋण असुली र बचत फिर्ता प्रक्रिया सँगसँगै अघि बढाइनेछ ।