महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा बस्ती नजिकै पाटेबाघ देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघलाई जङ्गलतर्फ धपाउन दुई वटा हात्ती परिचालन गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर विक्रम चौधरीका अनुसार उक्त क्षेत्रमा विगत चार–पाँच दिनदेखि लगातार बाघ देखिन थालेपछि निगरानी बढाइएको हो । बाघको गतिविधि निगरानी गर्न क्यामेरासमेत जडान गरिएको थियो ।

ADVERTISEMENT

गएराति पनि क्यामेरामा बाघ देखिएपछि निकुञ्जले शुक्लाफाँटा पोष्टबाट दुई वटा हात्ती परिचालन गरेको चौधरीले बताए । हात्तीको सहायताले बाघलाई बस्तीको छेउबाट जङ्गलतर्फ धपाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

ADVERTISEMENT

बाघको निगरानी तथा नियन्त्रणका लागि हात्तीसँगै बेल्डाडी पोष्टबाट खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारीसमेत परिचालन भएका छन् ।

पाटेबाघ उखुबारीमा रहेको सूचना प्राप्त भएको उल्लेख गर्दै चौधरीले उक्त क्षेत्रमा आवतजावत गर्ने स्थानीयलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

बस्ती नजिकै बाघ देखिन थालेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई सतर्क रहन र उक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न निकुञ्जले आग्रह गरेको छ ।