कञ्चनपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्री उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आज कञ्चनपुर जिल्लाका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भ्रमण गरेका छन् । सुदूरपश्चिम प्रदेशमा जारी चुनावी अभियानअन्तर्गत उनले कञ्चनपुरमा पार्टीका उम्मेदवारहरूसँग भेटघाट गर्दै चुनावी तयारीबारे छलफल र निर्देशन दिएका छन् ।

बालेन शाहले कञ्चनपुर–१ मा पार्टीका उम्मेदवार जनकसिंह धामी, कञ्चनपुर–२ मा दीपक बोहरा र कञ्चनपुर–३ मा ज्ञानेन्द्र महतासँग छुट्टाछुट्टै भेटघाट गरेका छन् । उनले उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारलाई तीव्रता दिन, स्थानीय समस्याहरूबारे मतदातासँग जोडिन तथा पार्टीको सन्देश प्रभावकारी रूपमा पुर्‍याउन आग्रह गरे ।

कञ्चनपुरको भ्रमणका क्रममा बालेन शाहले पुनर्वास, झलारी, महेन्द्रनगर लगायतका स्थानमा कार्यक्रममा सहभागी भएका थिए। कैलालीबाट कञ्चनपुर प्रस्थान गर्दा समर्थकहरूको उल्लेख्य उपस्थितिमा घण्टी बजाउँदै स्वागत तथा अभिवादन गरेका थिए।

रास्वपाको सुदूरपश्चिम भ्रमणमा बालेन शाहले विभिन्न जिल्लामा पार्टी कार्यकर्ता तथा मतदातासँग प्रत्यक्ष अन्तर्क्रिया गर्दै पार्टीको विकल्प राजनीतिको सन्देश फैलाइरहेका छन्। कञ्चनपुरमा उनको भ्रमणले स्थानीय तहमा पार्टीको सक्रियता बढेको र मतदातामा उत्साह थपिएको पार्टीका स्थानीय नेताहरूले बताएका छन् ।