काठमाडौं । बजारमा देखिएको खाना पकाउने एलपी ग्यास अभाव समाधान गर्न भारतबाट दैनिक १६० ग्यास बुलेट ल्याउने तयारी गरिएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले बताएका छन्।

मंगलबार पत्रकारहरूसँग कुरा गर्दै मन्त्री साहले अबको २–३ दिन लगातार दैनिक १६० बुलेटका दरले ग्यास भित्र्याउने व्यवस्था मिलाइएको जानकारी दिए। ग्यास बजारमा पर्याप्त मात्रामा पुगेपछि उपभोक्ताको माग सहज रूपमा पूरा हुने उनको दाबी छ।

ADVERTISEMENT

उनले ग्यास डिपोमा खाली सिलिन्डर राखेर घण्टौँसम्म पालो पर्खनुपर्ने उपभोक्ताको अवस्था छिट्टै अन्त्य हुने बताए। हाल ग्यास आपूर्तिमा मुख्य समस्या पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरो बनेको छ। पहिरोका कारण मुख्य मार्ग अवरुद्ध भएपछि तराईका रिफिलिङ सेन्टरबाट ट्रकमार्फत सिलिन्डर काठमाडौं ल्याउने गरिएको छ।

ADVERTISEMENT

तर, ट्रकमार्फत भइरहेको ढुवानीले बजारको अत्यधिक माग धान्न नसकेको ग्यास उद्योगीहरूले बताउँदै आएका छन्। मन्त्री साहले ग्याससँगै बजारमा देखिएको चिनी अभाव तथा मूल्यवृद्धिको समस्या समाधानका लागि पनि आफूले प्रयास गरिरहेको बताए।

उनले केही दिनमै चिनीको समस्या पनि समाधान हुने दाबी गरेका छन्।

ADVERTISEMENT