काठमाडौँ । कृष्णभीरमा सडक भासिएपछि ठूला ग्यास बुलेट काठमाडौं प्रवेश गर्न नसक्दा राजधानीमा एलपी ग्यास आपूर्ति प्रभावित हुने जोखिम बढेको छ। उपत्यकाबाहिर सिलिन्डरमा ग्यास भरेर काठमाडौं ल्याउने प्रयास भइरहे पनि पहिरोका कारण कान्तिलोकपथमा ग्यास बोकेका सवारीसाधन रोकिएका छन्।

ग्यास उद्योगी शिव घिमिरेका अनुसार हेटौंडाको उद्योगबाट ग्यास भरेर काठमाडौं आउँदै गरेका सवारीसाधन कान्तिलोकपथमा पहिरोका कारण अड्किएका हुन्। उनका अनुसार हेटौंडाबाट हिँडेका ग्यास बोकेका गाडी दिउँसोदेखि नै सडकमा रोकिएका छन्।

ADVERTISEMENT

कृष्णभीरमा सडक भासिएपछि ठूला ग्यास बुलेट काठमाडौं ल्याउन नसक्ने अवस्था बनेकाले हेटौंडाबाट खाली सिलिन्डर लगेर ग्यास भरी काठमाडौं ल्याउने वैकल्पिक व्यवस्था गरिएको हो। तर, कान्तिलोकपथमै पहिरोका कारण ग्यास बोकेका गाडी रोकिएपछि आपूर्ति व्यवस्थापनमा थप चुनौती देखिएको छ।

ADVERTISEMENT

नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानीबाहिरका उद्योगमा ग्यास भर्न अनुमति दिएको छ। उपत्यका तथा आसपासका **१६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)**का उद्योगसँग समन्वय गरी ग्यास भर्ने व्यवस्था मिलाएका छन्।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार विभिन्न वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास आपूर्ति गर्ने प्रयास भइरहेको छ। कान्तिलोकपथ हुँदै लेलेबाट ल्याउने प्रयास सफल नभएपछि अहिले त्रिभुवन राजपथको टिस्टुङ–पालुङ खण्ड हुँदै ग्यास ल्याउने विकल्पबारे नेपाल आयल निगमसँग छलफल भइरहेको छ।

ADVERTISEMENT

खाली सिलिन्डर अन्य जिल्लामा लगेर ग्यास भरी पुनः काठमाडौं ल्याउनुपर्ने भएकाले ढुवानी दूरी बढ्ने र त्यसले लागत तथा आपूर्ति व्यवस्थापनमा थप दबाब पर्न सक्ने व्यवसायीहरूको भनाइ छ।

मुख्य सडक अवरुद्ध रहँदा वैकल्पिक सडकमा समेत पहिरो र सवारी चापको समस्या देखिएमा काठमाडौंको ग्यास आपूर्ति थप प्रभावित हुन सक्ने जोखिम छ।