काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आगामी २६ असोजमा भारतको नयाँदिल्ली जाने भएका छन्। गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीका अनुसार गृहमन्त्री भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हुनेछ।
गुरुङले २७ असोजमा नयाँदिल्लीमा हुने बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागिता जनाउनेछन्। बैठकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन्।
नेपाली अधिकारीका अनुसार गृहमन्त्रीस्तरीय बैठकअघि बिमस्टेक सदस्य राष्ट्रका गृह सचिवहरूको बैठक हुनेछ। सन् १९९७ मा क्षेत्रीय संगठनका रूपमा स्थापना भएको बिमस्टेकमा पहिलोपटक गृहमन्त्रीस्तरीय बैठक हुन लागेको हो। बैठकमा सदस्य राष्ट्रहरूबीच साझा सुरक्षा चासोका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
बैठकबारे जानकार एक नेपाली अधिकारीका अनुसार यसअघि गृह सचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकले सिफारिस गरेका विषयलाई गृहमन्त्रीस्तरीय बैठकमा छलफलका लागि अघि बढाइनेछ।
भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने अपेक्षा गरिएको नेपाली अधिकारीहरूले बताएका छन्। उनले भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।
यसअघि ३०–३१ अगस्ट २०१८ मा काठमाडौंमा भएको चौथो बिमस्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रका नेताहरूले कानुन कार्यान्वयन, गुप्तचर तथा सुरक्षा निकायबीचको सहकार्य र समन्वय सुदृढ गर्ने प्रतिबद्धता जनाएका थिए। बिमस्टेक सदस्य राष्ट्रहरूले क्षेत्रीय सुरक्षा सहकार्यलाई थप सुदृढ गर्ने प्रयास गरिरहेका बेला पहिलोपटक गृहमन्त्रीस्तरीय बैठक नयाँदिल्लीमा आयोजना हुन लागेको हो।







