जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाबाट ९७४ निर्वाचन प्रहरी छनोट भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीका अनुसार, यसमध्ये ८७८ नेपाल प्रहरी र ९६ सशस्त्र प्रहरी मतदानस्थलको सुरक्षा व्यवस्था हेर्नेछन्।
सबै प्रक्रियाबाट सफल भएका निर्वाचन प्रहरीलाई आइतबार नियुक्तिका लागि सम्पर्कमा बोलाइएको छ।
जिल्लामा कुल मतदाता संख्या ७१,७३९ रहेको छ। यसमध्ये ३४,२८० महिला र ३७,४५९ पुरुष मतदाता रहेका छन्। जुम्लामा एक नगरपालिकासहित सात गाउँपालिका छन् र मतदानका लागि ८५ मतदानस्थल र ११० मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए।
निर्वाचन कार्यालयले अतिसंवेदनशील मतदानस्थलको वर्गीकरण गरेर सुरक्षा व्यवस्था कडा बनाउने जनाएको छ।
जुम्लाको एकमात्र निर्वाचन क्षेत्रमा एक स्वतन्त्र र नौ राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
- नेकपा (एमाले) बाट शान्तिलाल महत,
- नेपाली कांग्रेसबाट दीपबहादुर शाही,
- नेकपा (माओवादी) बाट विर्खबहादुर शाही,
- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नरेश भण्डारी,
- रास्वपा बाट विनिता कठायत,
- राप्रपा बाट ज्ञानबहादुर शाही,
- नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट विर्खबहादुर रावत,
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मनऋषि धिताल,
- नेपाल जनता पार्टीबाट रनिलविक्रम शाही,
- स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावल चुनावी मैदानमा रहेका छन्।
प्रहरी र निर्वाचन कार्यालयले मिलेर सुरक्षित र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।







