काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशका सातै प्रदेशमा सञ्चालन गरेको ‘स्टार अवार्ड २०८२–८३’ कार्यक्रमको श्रृंखला सम्पन्न गरेको छ। कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने १ हजार ६४ जना अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई स्टार अवार्डबाट सम्मान गरेको हो।

कम्पनीका अनुसार असोज ४ गते इटहरीबाट सुरु भएको कार्यक्रम असोज ५ गते बर्दिबास, असोज ७ गते बुटवल, असोज ८ गते नारायणगढ, असोज ११ गते काठमाडौं, असोज १२ गते धनगढी, असोज १३ गते सुर्खेत हुँदै असोज १५ गते पोखरामा सम्पन्न भएको थियो। आठवटा कार्यक्रममा गरी कुल २ हजार ५८१ उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरको सहभागिता रहेको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी सर्भिसिङ विभाग प्रमुख सुनिता पोखरेल, सेल्स तथा मोटिभेसन प्रशिक्षक किसु झा, पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसी तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीलगायत सहभागी थिए।

ADVERTISEMENT

कार्यक्रममा सेल्स तथा मोटिभेसन प्रशिक्षक किसु झाले विभिन्न विषयमा प्रशिक्षणसमेत दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ता सञ्जाल कम्पनीको व्यवसाय विस्तार र ग्राहकसँगको सम्बन्ध निर्माणको महत्वपूर्ण आधार रहेको बताए। उनले अभिकर्ताहरूलाई अनुशासन, जिम्मेवारी र व्यावसायिक आचरणलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे।

ADVERTISEMENT

कम्पनीले अभिकर्तालाई समान अवसर, सम्मान तथा व्यावसायिक विकासका अवसर उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उनले बीमा सेवाप्रति आमविश्वास थप बलियो बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताए।

पराजुलीले हालैका विपद्का घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरे। विपद्बाट प्रभावित अभिकर्ता तथा बीमितहरूको अवस्था पहिचान गरी आवश्यक सहयोगका लागि पहल भइरहेको उनले जानकारी दिए।

नेसनल सेल्स हेड उमापति पोखरेलले उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूलाई बधाई दिँदै आगामी दिनमा थप प्रतिबद्धता, ऊर्जा र व्यावसायिक सोचका साथ अघि बढ्न आग्रह गरे। कम्पनीको वृद्धि, ग्राहक सेवा तथा बीमाको पहुँच विस्तारमा अभिकर्ताहरूको निरन्तर योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो।

पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसीले अभिकर्तासँग सम्बन्धित ऐन, नियमावली तथा व्यावसायिक सरोकारका विषयमा आवश्यक सुधारका लागि संघले निरन्तर पहल गरिरहेको बताए। उनले सामाजिक सञ्जालमा तथ्यहीन तथा भ्रामक सामग्री सम्प्रेषण नगर्न र व्यावसायिक जिम्मेवारीप्रति सचेत रहन अभिकर्ताहरूलाई आग्रह गरे।

त्यस्तै, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले सम्मानित अभिकर्ताहरूलाई बधाई दिँदै उनीहरूको योगदानले कम्पनीको व्यावसायिक यात्रालाई थप मजबुत बनाएको बताए। उनले अभिकर्ताहरूलाई एकजुट भएर थप मेहनतका साथ कम्पनीको बजार हिस्सा विस्तारमा योगदान गर्न आग्रह गरे।

कम्पनीले ‘स्टार अवार्ड’लाई उत्कृष्ट कार्यसम्पादनको सम्मानमा मात्र सीमित नगरी अभिकर्ताको प्रेरणा, ज्ञान अभिवृद्धि, व्यावसायिक क्षमता विकास तथा अनुभव साझेदारीको प्लेटफर्मका रूपमा सञ्चालन गरेको जनाएको छ।

देशका विभिन्न प्रमुख सहरमा आयोजित कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादनको कदर गर्नुका साथै अभिकर्ता सञ्जालसँगको सहकार्यलाई थप सुदृढ गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ।