काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई केवल भौतिक पूर्वाधार निर्माणमा सीमित नराखी मानिसको भविष्य र सुरक्षासँग जोड्नुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सडक, भवन र पुल निर्माण मात्रै विकास नभएको उल्लेख गर्दै विकासका ढाँचा मानवीय र प्रकृतिमैत्री हुनुपर्ने बताएका हुन्। उनले भने, ‘विकास केवल सडक, भवन र पुल होइन । मानिसको भविष्यको सुरक्षा पनि हो।’

ADVERTISEMENT

देश प्राकृतिक विपद्को गहिरो पीडामा रहेका बेला संविधान दिवस मनाउनुपरेको भन्दै राष्ट्रपति पौडेलले शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

ADVERTISEMENT

उनले विपद्को कठिन परिस्थिति र पीडाबीच पनि संविधान दिवस संविधानको उत्सव मनाउने विशेष अवसर भएको बताए। राष्ट्रपति पौडेलले संविधानलाई कागजमा लेखिएको दस्ताबेज मात्र नभई सम्पूर्ण नागरिकको आशा र सपना समेटिएको महत्वपूर्ण दस्ताबेजका रूपमा चित्रण गरे। एकात्मक र केन्द्रीकृत शासन प्रणालीको विकल्पमा संविधानले दिएको संघीयता र प्रदेश संरचना मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।

संघीयताको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकका सपना पूरा गर्नुपर्नेमा जोड दिँदै उनले प्राकृतिक प्रकोपबाट जोगिन र दिगो विकास हासिल गर्न आगामी दिनमा प्रकृतिमैत्री नीति तथा भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्ने बताए।

ADVERTISEMENT