काठमाडौं । पूर्वमाओवादी नेता तथा पूर्वपर्यटनमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने भएका छन् । पार्टी एकतासँगै किरातीले वरिष्ठ नेताको जिम्मेवारी पाउने सहमति भएको छ ।
किराती पक्षका एक नेताका अनुसार श्रम संस्कृति पार्टीमा किराती समूहले एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पनि पाउने सहमति भएको हो ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र सुदन किरातीबीच यस सम्बन्धी सहमति बिहीबार राति ललितपुरमा भएको बताइएको छ । आज काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा आयोजित कार्यक्रममा पार्टी एकताको औपचारिक घोषणा गरिने तयारी गरिएको छ । कार्यक्रम अपराह्न ३ बजेका लागि तय गरिएको छ ।
भोजपुरका सुदन किराती पूर्वमाओवादी नेता हुन् । उनी यसअघि पर्यटनमन्त्रीसमेत बनेका थिए । जेनजी आन्दोलनपछि प्रचण्ड र माधव नेपाललगायत नेताहरूले पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै किराती प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध भएका थिए ।
माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा गठन गरिएको प्रलोपामा किराती पाँच सदस्यीय अध्यक्ष परिषद्का सदस्य थिए । तर, २१ फागुनको निर्वाचनपछि उनले उक्त पार्टी परित्यागको घोषणा गरेका थिए ।









