काठमाडौं । नेपालको पश्चिमी भूभागका अधिकांश स्थानबाट यस वर्षको मनसुन बाहिरिएको छ। तर देशभरबाट मनसुन पूर्णरूपमा बाहिरिन बाँकी रहेकाले अहिले पनि विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज १७ (अक्टोबर ३) देखि सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थान र गण्डकी प्रदेशका पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिएको हो।

ADVERTISEMENT

मनसुनी वायु कमजोर हुँदै गएकाले देशका बाँकी भूभागबाट पनि केही दिनभित्र मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ।

ADVERTISEMENT

मौसमविद् विनु महर्जनका अनुसार गण्डकीको पश्चिमी भूभाग, लुम्बिनीको करिब आधा भूभाग र कर्णालीको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिसकेको छ। पूर्वी भूभागमा भने मनसुनी वायुको प्रभाव अझै कायम छ।

उनका अनुसार मनसुन बाहिरिएको पश्चिमी क्षेत्रमा समेत पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण वर्षा भइरहेको छ। आगामी एक–दुई दिन पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिने भएकाले मनसुन बाहिरिसकेका क्षेत्रमा पनि पानी पर्न सक्ने उनले बताइन्।

ADVERTISEMENT

अहिले कहाँ कति वर्षा?

हाल देशभर आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही जिल्लामा वर्षा भइरहेको विभागले जनाएको छ।पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै इलामको माइपोखरीमा ५१.८ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा बाँकेको ढकेरी मापन केन्द्रमा ७५.४ मिलिमिटर र कपिलवस्तुको रँगाईमा ६३ मिलिमिटर वर्षा मापन भएको छ।कतिपय तराईका भूभागमा बिहानको समयमा हुस्सु र तुँवालोसमेत लागेको मौसमविद्ले बताएका छन्।

आगामी तीन दिन वर्षाको सम्भावना

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्र तथा सुदूरपश्चिमका पहाडी र तराई भूभागका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षा हुनसक्ने अनुमान गरिएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। लुम्बिनी र कर्णालीका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुनसक्ने विभागले जनाएको छ।

त्यस्तै, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

मंगलबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा कर्णालीका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने विभागले जनाएको छ।

बुधबार पनि हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा मध्यम तथा मधेश र कोशीका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने पूर्वानुमान छ।

हाल कुनै मौसमी चेतावनी छैन

महाशाखाका अनुसार हाल देशका कुनै जिल्ला वा क्षेत्रमा छुट्टै मौसमी चेतावनी जारी गरिएको छैन। तर अहिले धानबाली काटेर भित्र्याउने समय भएकाले हल्का वा मध्यम वर्षाले समेत बालीमा असर पार्न सक्ने विभागले जनाएको छ। किसानले वर्षाको सम्भावनालाई ध्यानमा राखेर बाली भित्र्याउने काम गर्नुपर्ने देखिएको छ।

नेपालमा मनसुन कहिले बाहिरिन्छ?

नेपालमा सामान्यतया जुन १३ अर्थात् जेठको चौथो सातातिर मनसुन प्रवेश गरी अक्टोबर २ अर्थात् असोजको तेस्रो सातातिर बाहिरिने गर्छ। तर पछिल्ला वर्षमा जलवायु परिवर्तनका असरका कारण मनसुनको आगमन र बहिर्गमनको समय केही पछाडि धकेलिँदै गएको मौसमविद्हरू बताउँछन्।

नेपालमा मनसुनको चारमहिने अवधिमा वार्षिक वर्षाको करिब ८० प्रतिशत पानी पर्ने गर्छ। मौसमविद् सञ्जिभ अधिकारीका अनुसार दक्षिण एसियाको मनसुनी प्रणालीमा बंगालको खाडीबाट आउने मनसुनी वायुको महत्वपूर्ण भूमिका हुन्छ। अरब सागरबाट आउने मनसुनको अर्को शाखाले पनि नेपालको मध्य तथा पश्चिमी भूभागमा वर्षा गराउन सक्छ।

मनसुनको समयमा न्यूनचापीय रेखा (मनसुन ट्रफ) को अवस्थाले पनि वर्षाको मात्रा निर्धारण गर्छ। यो रेखा नेपालतर्फ सर्दा वर्षा बढ्ने र दक्षिणतर्फ सर्दा नेपालमा मनसुन कमजोर हुने गर्छ। यस वर्ष पनि मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा र अधिकतम तापक्रम सरदरभन्दा बढी हुने पूर्वानुमान विभागले यसअघि नै गरेको थियो।