काठमाडौँ, असोज १९ । नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले आफ्नो उम्मेदवारीलाई कांग्रेस विचारको रक्षा, वैचारिक नवीकरण र नयाँ पुस्तालाई पार्टीसँग जोड्ने अभियानका रूपमा प्रस्तुत गरेका छन्।
आइतबार बिहान काठमाडौँमा आयोजित कार्यक्रममा तिवारीले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसको संगठनलाई बलियो बनाउँदै तल्लो तह र दूरदराजका नागरिकसम्म पार्टीलाई जोड्न आफूले महामन्त्री पदमा उम्मेदवारी दिन लागेको बताए।
१४औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ सबैभन्दा कान्छा उम्मेदवारका रूपमा चर्चामा आएका तिवारी यसपटक महामन्त्रीको दौडमा उत्रिएका हुन्। राजनीतिक विश्लेषक तथा लेखकका रूपमा समेत परिचित तिवारी विद्यार्थी राजनीतिदेखि नै कांग्रेस सभापति गगन थापानिकट रहेर काम गर्दै आएका छन्। उनले थापासँग लेखन तथा वैचारिक मन्थनमा समेत सहकार्य गर्दै आएका छन्।

उम्मेदवारी घोषणा गर्दै तिवारीले आफूले महामन्त्री पदलाई कांग्रेस विचारको सिर्जनशील व्याख्या, विस्तार र प्रसार गर्ने जिम्मेवारीका रूपमा लिएको बताए। “महामन्त्री पदमा मेरो उम्मेदवारी कांग्रेस भन्ने विचारको रक्षाका लागि हो। कांग्रेस विचारको सिर्जनशील व्याख्या, विस्तार र प्रसारका लागि हो।”उनले कांग्रेसको विचारलाई परम्पराको सम्मान गर्दै नयाँ पुस्तासँग जोड्नुपर्ने बताए। उनका अनुसार विचारको सामयिक नवीकरणबिना कांग्रेसको राजनीतिक धारलाई प्रभावकारी रूपमा अघि बढाउन कठिन हुन्छ।
तिवारीले अहिले कांग्रेस विचार संकटमा परेको दाबी गर्दै पार्टीले वैचारिक स्पष्टतासहित नयाँ कार्यदिशा तय गर्नुपर्ने बताए। उनले १५औँ महाधिवेशनलाई त्यसका लागि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे।
उनले भने, “कांग्रेसको मूल कार्यभार भनेको देशलाई अति दक्षिणपन्थी प्रियतावादबाट मुक्त गराउनु हो। त्यसका लागि कांग्रेसमा वैचारिक स्पष्टता जरुरी छ र नयाँ कार्यदिशाको खाँचो छ।”
तिवारीको उम्मेदवारी घोषणासँगै कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदको प्रतिस्पर्धा थप रोचक बनेको छ।







