काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ।
यसैबीच पार्टी सभापति गगन थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार भइरहेको भन्दै त्यस्ता सूचीलाई आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका छन्।
थापाले महाधिवेशन प्रतिनिधिलाई लोकतान्त्रिक अभ्यासमा मर्यादित, संयमित र उत्साहपूर्ण ढंगले सहभागी हुन अपिल गरेका छन्। उनले पार्टीभित्रको निर्वाचन स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया भएको उल्लेख गर्दै यसपटक कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका छन्।
‘मेरो नाम जोडेर आएको लिस्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन आग्रह गर्दछु। कुनै पनि अफवाहमा नलाग्नुहोला,’ थापाले भनेका छन्।
उनले महाधिवेशन प्रतिनिधिलाई कुनै भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर मतदान गर्न पनि आग्रह गरेका छन्।
प्रतिनिधिले आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा उम्मेदवार छनोट गर्नुपर्ने थापाको भनाइ छ।







