काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाजलाई सबैभन्दा गहिरो रूपमा नेपाली कांग्रेसले आत्मसात गरेको दाबी गरेका छन्। उनले जेन–जी आन्दोलनका मुद्दा कांग्रेसले प्राथमिकताका साथ समेट्दै अघि बढेको बताए।

शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले गत भदौ २३ र २४ गते भएको आन्दोलनलाई केवल अराजकताको रूपमा मात्र नहेरी त्यसमा उठेका युवा पुस्ताका जायज आवाज र मागलाई कांग्रेसले ग्रहण गरेको स्पष्ट पारे।

ADVERTISEMENT

उनले सुशासन सबै नेपाली नागरिकको साझा चाहना भएको उल्लेख गर्दै नागरिक स्वतन्त्रताको प्रयोगमा कुनै पनि प्रकारको बन्देज लगाइनु नहुने धारणा व्यक्त गरे। महामन्त्री पौडेलका अनुसार लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र अभिव्यक्ति र नागरिक अधिकारको संरक्षण अपरिहार्य छ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका मुद्दा अन्य दलभन्दा बढी नेपाली कांग्रेसले आत्मसात गरेको दाबी गर्दै उनले अघिल्लो निर्वाचनमा व्यक्त गरेका सबै प्रतिबद्धता पूरा गर्न नसकेको स्वीकार गरे। तर, आफूले कुनै पनि नकारात्मक वा हानिकारक काम नगरेको उनको भनाइ थियो।

ADVERTISEMENT

सरकारमा रहँदा राज्यका समस्या र तिनका समाधानका उपायबारे गहिरो रूपमा बुझ्ने अवसर पाएको उल्लेख गर्दै महामन्त्री पौडेलले अनुभवबाट धेरै कुरा सिकेको बताए।

“मैले सबै काम गरेँ भन्न चाहन्नँ। कतिपय अवस्थामा जति प्रभावकारिता देखाउन सक्नुपर्थ्यो, त्यो सम्भव भएन। अनुभवले पनि धेरै कुरा सिकायो,” उनले भने, “आज राज्य प्रणालीलाई शतप्रतिशत बुझेको छु भन्दिनँ, तर पहिलाभन्दा धेरै राम्रोसँग बुझ्न सकेको छु। सुधार कहाँ आवश्यक छ र समाधान के हो भन्ने विषयमा म स्पष्ट छु। मैले सबै गरेँ भन्दिनँ, तर केही बिगारेको पनि छैन।”

महामन्त्री पौडेलले आगामी दिनमा सुशासन, सुधार र युवामैत्री नीतिलाई प्राथमिकता दिँदै कांग्रेस अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।