काठमाडौँ, असोज १५ । सङ्घीय संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य हुने भएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले असोज १६ गतेदेखि अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरिएको जानकारी दिइन्।

संविधानअनुसार सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ। सङ्घीय संसद्को चालु अधिवेशन वैशाख २८ गतेदेखि सुरु भएको थियो। अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो।

ADVERTISEMENT

यस अवधिमा अध्यादेश प्रतिस्थापनका ६ वटा विधेयक पारित तथा प्रमाणीकरण भएका छन्। यस्तै, वैकल्पिक वित्त परिचालन विधेयक, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयक र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पनि पारित तथा प्रमाणीकरण भएका छन्। प्रतिनिधिसभामा १० भन्दा बढी विधेयक विभिन्न समितिमा विभिन्न चरणमा विचाराधीन छन्।

ADVERTISEMENT

चालु अधिवेशनमा प्रतिनिधिसभाले जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययनका लागि विशेष समिति गठन गरेको थियो।

अधिवेशनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले एकपटक आकस्मिक प्रश्नोत्तरमा भाग लिएका थिए। यस्तै, परराष्ट्रमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसँग प्रश्नोत्तर भएको थियो। पूर्वाधार विकासमन्त्री तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँग पनि प्रतिनिधिसभामा प्रश्नोत्तर भएको थियो।