काठमाडौं । मन्त्रिपरिषद् बैठकले संघीय सरकारको बर्खे अधिवेशन बैशाख २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले वैशाख अन्तिममा संसद् अधिवेशन बोलाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार सिंहदरबारमा बसेको बैठकले यो निर्णय लिएको हो र अब अन्तिम निर्णय राष्ट्रपतिबाट हुनेछ ।
यसअघि पनि सरकारले संसद् अधिवेशन बोलाउन सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरेका थिए । तर, त्यसको केही समयपछि सरकारले नै विशेष कारण देखाउँदै उक्त अधिवेशन स्थगित गर्न पत्र पठाएपछि बैठक अघि बढ्न सकेन ।
प्रधानमनत्री वालेन्द्र शाह बालेनले सरकारले पठाएका आठवटै अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भइसकेकाले अधिवेशन बोलाउने निर्णय गरेका हुन् । मन्त्रिपरिषद्को निर्णय आजै राष्ट्रपति कार्यालय पठाइने भएको छ ।








