काठमाडौँ । लगातारको वर्षासँगै पहिरो र रोशी नदीको कटानका कारण अवरुद्ध बनेको बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड सोमबार पनि बन्द छ। अवरोध हटाउने काम पूरा नभएकाले यातायात सञ्चालन गर्न नसकिएको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिएका छन्। डिभिजन सडक कार्यालय भक्तपुरको टोली बिहानैदेखि सडक सञ्चालन गराउने प्रयासमा छ। मौसमले साथ दिए मंगलबार असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने अनुमान गरिएको छ। तर, अहिलेको अवरोधले बीपी राजमार्गमा हरेक वर्ष दोहोरिँदै आएको बाढी, पहिरो र नदी कटानको समस्या फेरि देखाएको छ।

२०८१ को बाढीपछि पनि सहज भएन यात्रा

२०८१ असोजमा रोशी खोलामा आएको बाढी र पहिरोले बीपी राजमार्गको काभ्रे खण्डमा ठूलो क्षति पुर्‍याएको थियो। सडकको ठूलो भाग बगेपछि यातायात सञ्चालनका लागि विभिन्न स्थानमा अस्थायी डाइभर्सन बनाइएको थियो।

ADVERTISEMENT

तर ती डाइभर्सनमा वर्षायाममा हिलो र घाम लाग्दा धुलोको समस्या हुने गरेको चालकहरू बताउँछन्। सवारीसाधनलाई समेत क्षति पुग्ने र यात्रामा जोखिम बढ्ने उनीहरूको गुनासो छ।

ADVERTISEMENT

बीपी राजमार्गमा नियमित सवारी चलाउने चालक विनोद दाहालका अनुसार डाइभर्सनको अवस्थाका कारण दैनिक सास्ती खेप्नुपरेको छ।

रोशी गाउँपालिका–११ कालढुङ्गाका स्थानीय बुद्ध लामाले बाढीले बस्ती र सडक दुवैमा ठूलो क्षति पुर्‍याएको बताए। उनका अनुसार राजमार्ग स्थानीयको आर्थिक गतिविधिको मुख्य आधार भए पनि अहिले धुलो, हिलो र पुनः बाढी आउने जोखिम कायमै छ।

ADVERTISEMENT

चार प्याकेजमा भइरहेको छ स्थायी पुनर्निर्माण

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बर्खेखोलादेखि भकुण्डेबेँसीसम्मको २५.११ किलोमिटर सडक चार प्याकेजमा पुनर्निर्माण भइरहेको छ।

  • प्याकेज–१: बर्खेखोला–पिप्ले, ३.२२ किलोमिटर। जाइका अनुदानमा निर्माण हुँदैछ। जापानी कम्पनी सिमिजु कर्पोरेसनसँग सम्झौता भएको छ।
  • प्याकेज–२: पिप्ले–डालाबेँसी, २.३० किलोमिटर। रु १ अर्ब २१ करोड लागत अनुमान गरिएकोमा रु ६८ करोड ८० लाख ४० हजारमा सम्झौता भएको छ। भौतिक प्रगति ४० प्रतिशत पुगेको छ।
  • प्याकेज–३: डालाबेँसी–चारसयबेँसी, ८.५० किलोमिटर। रु २ अर्ब ४५ करोड लागत अनुमानमा रु १ अर्ब ४२ करोडमा सम्झौता भएको छ। भौतिक प्रगति ४६ प्रतिशत छ।
  • प्याकेज–४: चारसयबेँसी–भकुण्डेबेँसी, ११.०९ किलोमिटर। रु २ अर्ब ५२ करोड लागत अनुमानमा रु १ अर्ब ३३ करोडमा सम्झौता भएको छ। भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ।

सडकलाई बाढी तथा पहिरोबाट जोगाउन आरसीसी क्यान्टिलिभर वाल, माइक्रोपाइल, प्लम कङ्क्रिट र स्टोन मसनरीजस्ता संरचना निर्माण भइरहेको सडक डिभिजनले जनाएको छ।कूल ६ हजार ३०० मिटर आरसीसी क्यान्टिलिभर वाल निर्माण गर्नुपर्नेमा हालसम्म ३ हजार ७६० मिटर सम्पन्न भएको छ। माइक्रोपाइलतर्फ १ हजार १४५ मिटरको काम पूरा भएको छ।

डाइभर्सन जोगाउनै चुनौती

वर्षायाममा सडक पूर्ण रूपमा अवरुद्ध नहोस् भनेर जोखिमयुक्त स्थानमा न्यूनतम ४.५ मिटर उचाइसम्म आरसीसी क्यान्टिलिभर वाल निर्माण गरी ग्राभेल सडक तयार गरिएको छ।सम्भावित पहिरो तथा अवरोध तत्काल हटाउन १३ एक्स्काभेटर, ६ लोडर र ११ टिपर विभिन्न स्थानमा तयारी अवस्थामा राखिएको छ।

तर अस्थायी डाइभर्सनमा बाढीको जोखिम भने कायमै छ। अघिल्लो वर्ष निर्माण गरिएका डाइभर्सनसमेत पछिल्लो बाढीले क्षति पुर्‍याएको थियो। चौकीडाँडादेखि नेपालथोकसम्मका डाइभर्सन निर्माणमा करिब रु १० करोड खर्च भए पनि रोशी खोलाको बाढीले विभिन्न भाग बगाएको थियो। यस वर्ष असोज ९ गतेदेखि परेको लगातारको वर्षाले पनि चौकीडाँडा, चारसयबेँसी, गिम्दीबेँसी र माम्तीलगायत क्षेत्रमा पहिरो तथा नदी कटानको समस्या देखिएको छ।

अबको चुनौती

बीपी राजमार्गको पुनर्निर्माणमा तत्काल यातायात सञ्चालन गरिराख्नु र दीर्घकालीन रूपमा सडकलाई बाढी–पहिरोबाट सुरक्षित बनाउनु दुवै चुनौती बनेका छन्।  २०८१ को बाढीले मुख्य सडकमा क्षति पुर्‍यायो, २०८२ को बाढीले अस्थायी डाइभर्सनको कमजोरी देखायो र अहिलेको वर्षाले फेरि त्यही समस्या दोहोर्‍याएको छ। त्यसैले सडक पुरानै अवस्थामा फर्काउने मात्र नभई जोखिमयुक्त स्थानको संरचना र आवश्यक परे सडकको रेखांकनसमेत पुनर्विचार गर्नुपर्ने स्थानीयको माग छ।बीपी राजमार्ग राजधानीलाई पूर्वी तथा मध्य नेपालसँग जोड्ने महत्वपूर्ण सडक भएकाले यसको अवरोधले यात्रुसँगै स्थानीय व्यापार, ढुवानी र दैनिक जनजीवनमा समेत प्रत्यक्ष असर पार्ने गरेको छ।