काठमाडौं । काठमाडौँ उपत्यकाका लागि ग्यास बोकेर आउँदै गरेका १०५ वटा ग्यास बुलेट बीच बाटोमै रोकिएका छन्।

बाढीपहिरोका कारण पृथ्वी राजमार्गमा यातायात आवतजावत ठप्प हुँदा भारतबाट ग्यास बोकेर काठमाडौँ आउँदै गरेका बुलेटहरू चितवन र हेटौँडा आसपास रोकिएका हुन्।

ADVERTISEMENT

नेपाल आयल निगमका अनुसार बुधबारदेखिको वर्षाका कारण पृथ्वी राजमार्गको कृष्णभिरसहित दर्जनौँ स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा वीरगन्ज भन्सारबाट ग्यास लोड गरेर आएका बुलेट काठमाडौँसम्म पुग्न सकेका छैनन्।

ADVERTISEMENT

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार सडकमा यातायात सुचारु हुनासाथ रोकिएका ग्यास बुलेट काठमाडौँ ल्याइनेछन्।

निगमका अनुसार ती १०५ वटा ग्यास बुलेटमा करिब १ लाख ५० हजार सिलिन्डर बराबरको ग्यास रहेको छ। भारतको बरौनी, पारादीप, हल्दियालगायत स्थानबाट ग्यास लोड गरेर आएका बुलेटहरू वीरगन्ज भन्सार क्लियर भएपछि चितवनको रामनगर, हेटौँडालगायत स्थानमा रोकिएका छन्।

ADVERTISEMENT

काठमाडौँ उपत्यकामा रहेका १६ वटा ग्यास ब्रान्डका लागि ल्याइएका ती बुलेट काठमाडौँ आइपुगेपछि दैनिक ५० हजारदेखि ६० हजार सिलिन्डरका दरले बजारमा पठाउन सकिने निगमले जनाएको छ।

निगमका अनुसार आइतबार मात्रै काठमाडौँ उपत्यकामा १७ हजार सिलिन्डर ग्यास वितरण गरिएको थियो। ग्यास आपूर्ति नियमित हुन नसक्दा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको अभाव देखिएको छ।