काठमाडौं । ग्यास अभाव र कालोबजारीका विषयमा उद्योगी–व्यवसायीमाथि गम्भीर आरोप लगाएपछि विवादमा तानिएकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटेर राजीनामा बुझाएकी हुन्।
यसअघि बुधबार संसद्को उद्योग तथा वाणिज्य समितिको बैठकमा मन्त्री यादवले बजारमा ग्यास अभाव हुनुमा उद्यमी–व्यवसायीको बदमासी प्रमुख कारण रहेको दाबी गरेकी थिइन्। उनले कर्मचारीसमेत उद्योगीको प्रभावमा चल्ने गरेको र ग्यास उद्योगको अनुमति तथा लाइसेन्सका विषयमा करोडौँ रुपैयाँ लेनदेन हुने गरेको आरोप लगाएकी थिइन्।
मन्त्री यादवले नेपालमा रहेका ५८ वटा ग्यास उद्योगको संख्या घटाउनुपर्ने धारणा राख्दै दुईभन्दा बढी ग्यास उद्योग आवश्यक नरहेकोसमेत बताएकी थिइन्। उद्योगीलाई कडाइ नगरेसम्म ग्यास आपूर्ति सहज नहुने उनको दाबी थियो।
उनको अभिव्यक्तिप्रति नेपाल उद्योग वाणिज्य महासंघ, ग्यास उद्योगी तथा व्यवसायीहरूले आपत्ति जनाएका थिए।
यसअघि पनि विवादमा आएकी यादव गत चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेकी थिइन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सूचना चुहाएको आरोपदेखि उनलाई पक्राउ गर्न प्रधानमन्त्री कार्यालयले प्रहरी खटाएको भनिएको घटनासम्म उनी विवादमा परेकी थिइन्।
रसुवाको भोटेकोशी बाढीपछि सडक तथा ढुवानी पूर्वाधारमा क्षति पुग्दा ग्यासको आपूर्ति थप प्रभावित बनेको थियो। लामो समयदेखि देखिएको ग्यास अभावका कारण सरकारमाथि उपभोक्ता तथा व्यवसायीको दबाबसमेत बढ्दै गएको थियो।
यही पृष्ठभूमिमा समितिमा दिएको अभिव्यक्तिको भोलिपल्टै मन्त्री यादवको राजीनामालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।






