काठमाडौँ। भारत मा खाना पकाउने ग्यासको अभाव भएपछि सर्वसाधारणदेखि उद्योग–व्यवसायसम्म प्रभावित भएका छन्। ग्यास वितरण केन्द्रहरूमा उपभोक्ताको लामो लाइन लागेको छ भने ग्यासको मूल्य पनि ६० भारतीय रुपैयाँले बढेको छ।
ग्यास अभावका कारण होटल तथा पर्यटन क्षेत्रसमेत संकटमा परेको छ। सरकारले ग्यास वितरण गर्दा अस्पताल, शैक्षिक क्षेत्र तथा अन्य आपतकालीन सेवाहरूलाई प्राथमिकतामा राखेको जनाएको छ।
यसका कारण बेंगलुरु, दिल्ली, हैदरावाद र मुम्बई जस्ता ठूला सहरका रेस्टुरेन्ट तथा होटलहरूले समस्या सामना गरिरहेका छन्। होटल व्यवसायी संघहरूले अस्थायी रूपमा व्यवसाय बन्द गर्ने, सञ्चालन समय घटाउने लगायतका उपाय अपनाएका छन्।
व्यवसायीहरूका अनुसार ग्यासको ठूलो भण्डारण नगर्ने प्रचलनका कारण आपूर्ति रोकिँदा तत्काल समस्या देखिएको हो।
ग्यास अभावको असर स्विगी र जोमाटो जस्ता खाना पुर्याउने सेवामा पनि परेको छ। सरकारले कालोबजारी रोक्न र आपूर्ति सहज बनाउन विभिन्न कदम चालिएको जनाएको छ।
देशभित्रका तेल प्रशोधन केन्द्रहरूलाई ग्यास उत्पादन बढाउन निर्देशन दिइएको छ भने ग्यास वितरणमा ठूला उद्योगभन्दा सर्वसाधारणलाई प्राथमिकता दिन सरकारद्वारा आदेश जारी गरिएको छ।
भारतमा वार्षिक झण्डै ३१.३ मिलियन टन खाना पकाउने ग्यास खपत हुने गरेको छ, जसको करिब ६२ प्रतिशत विदेशबाट आयात गरिन्छ। धेरैजसो ग्यास हर्मुजको घाँटी हुँदै पश्चिम एशियाबाट भारत पुग्ने गर्दछ।
पश्चिम एशियामा बढ्दो तनावका कारण उक्त समुद्री मार्ग प्रभावित भएपछि ग्यास आपूर्ति घटेको बताइएको छ। यसै क्रममा इराक ले आफ्नो दक्षिणी तेलखानीमा उत्पादन करिब ७० प्रतिशतले घटाएर दैनिक १.३ मिलियन ब्यारेलमा सीमित गरेको छ भने कुवेत पेट्रोलियम कर्पोरेशनले पनि आपतकाल घोषणा गर्दै उत्पादन घटाउन थालेको जनाएको छ।
यस क्षेत्रको तनावका कारण भारतले खाना पकाउने ग्यासका लागि वैकल्पिक स्रोत खोज्न थालेको छ। भारतीय अधिकारीहरूले अल्जेरिया, अस्ट्रेलिया, क्यानडा र नर्वे लगायतका देशबाट ग्यास आयात गर्ने विषयमा छलफल गरिरहेका छन्।








