काठमाडौं । आगामी खेती सिजनमा किसानले रासायनिक मलको अभाव झेल्न नपरोस् भन्दै सरकारले मल खरिद तथा आपूर्तिको पूर्वतयारी तीव्र पारेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले समयमै मलको सहज आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढाएको जनाएको छ। मन्त्रालयका अनुसार मल खरिदका लागि अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चितता प्राप्त भइसकेको छ।
बजेटको स्रोत सुनिश्चित भएसँगै उक्त रकमबाट आवश्यक रासायनिक मल खरिद गर्न छिट्टै बोलपत्र आह्वान गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
विगतका वर्षमा मुख्य खेती सिजनमा मलको अभाव हुने गरेको भन्दै यसपटक समयमै खरिद प्रक्रिया अघि बढाइएको मन्त्रालयको भनाइ छ। किसानलाई आवश्यक समयमा मल उपलब्ध गराउने उद्देश्यले खरिद र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आवश्यक परिमाणमा मलको व्यवस्थापन गरी आगामी खेती सिजनमा आपूर्ति सहज बनाउने तयारी गरिएको छ।






