सिरहा । धनगढीमाई नगरपालिका–१० दनुवारी टोलका किसानहरू रासायनिक मल छाडेर गँड्यौला मलतर्फ आकर्षित हुन थालेका छन्। स्थानीय किसान अनिता महतोले विगत छ महिनादेखि आफ्नो खेतमा रासायनिक मलको सट्टा गँड्यौला मल प्रयोग गर्दै आएकी छन्।

अनिताले करिब पाँच कट्ठा जमिनमा तरकारी खेती गरिरहेकी छन्। उनका अनुसार गँड्यौला मल प्रयोग गरेपछि उत्पादन राम्रो भएको छ भने रासायनिक मल खोज्दै बजार र सहकारी धाउनुपर्ने अवस्था हटेको छ। यो मलले माटोमा चिस्यान कायम राख्नुका साथै माटोको उर्वराशक्ति पनि बढाएको उनको भनाइ छ।

उक्त टोलकी अर्की किसान सुगन्धादेवी सिंहले पनि गँड्यौला मल प्रयोग गरेर खेती गरिरहेकी छन्। टोलका ११ घरपरिवारले ‘महारानी महिला कृषक समूह’ गठन गरी व्यावसायिक रूपमा गँड्यौला मल उत्पादन गरिरहेका छन्। समूहमा २६ सदस्य छन् भने अन्य १२ परिवारले गोठ सुधार गरी कम्पोष्ट मल उत्पादनमा लागेका छन्।

ADVERTISEMENT

समूहकी कोषाध्यक्ष उर्मिला महतोका अनुसार गाईभैँसीको मलमूत्र र सड्ने झारपात सङ्कलन गरेर त्यसमा गँड्यौला छाडिन्छ। गँड्यौलाले ती पदार्थ खाएपछि निस्कने दिसालाई मलका रूपमा प्रयोग गरिन्छ। यो मलले माटोलाई चिस्यानयुक्त राख्न मद्दत गर्ने भएकाले जलवायुमैत्री कृषिका लागि उपयुक्त मानिन्छ।

ADVERTISEMENT

लहानस्थित  नेसनल फार्मर ग्रुप फेडरेसन नेपालले ‘जलवायुमैत्री गाउँ परियोजना’मार्फत किसानलाई आधुनिक र जलवायु उत्थानशील खेती प्रणालीमा जोड्ने काम गरिरहेको छ। केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित परियोजनाले कृषक पाठशाला सञ्चालन, कृषि सामग्री वितरण, गोठ सुधार, बोरिङ तथा फोहोरा सिँचाइ, झोल मल, जैविक मल र जलवायुमैत्री बीउबिजन वितरणजस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ।

ADVERTISEMENT

परियोजनाका फिल्ड सुपरीवेक्षक रविन साहका अनुसार धनगढीमाई नगरपालिकाको वडा नं. १४ बाहेक सबै वडामा महिला कृषक समूह गठन गरिएको छ। कार्यक्रम सिरहाका चार स्थानीय तह र सप्तरीका दुई गाउँपालिकामा सञ्चालन भइरहेको छ।

परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत ईश्वर थापाका अनुसार ७० प्रतिशत संस्थागत र ३० प्रतिशत किसानको लागत साझेदारीमा कार्यक्रम सञ्चालन भइरहेको छ। परियोजनाको मुख्य उद्देश्य हरितगृह ग्यास उत्सर्जन घटाउँदै जलवायु उत्थानशील र लैङ्गिक उत्तरदायी कृषक समुदाय निर्माण गर्नु रहेको उनले बताए।

विज्ञहरूका अनुसार माटोमा कार्बनको मात्रा बढ्दा पोषकतत्वको चुहावट कम हुने, बिरुवाको जराको विकास राम्रो हुने र दीर्घकालीन रूपमा उत्पादन क्षमता बढ्ने हुन्छ। छोटो समयमै बढी नाफा खोज्नेका लागि यो प्रणाली ढिलो देखिए पनि माटोको स्वास्थ्य सुधार र विषादीरहित उत्पादनका लागि गँड्यौला मल प्रभावकारी विकल्प बन्दै गएको छ।