काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहँदा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषका विभिन्न खातामा गरी १५ अर्ब रुपैयाँभन्दा बढी मौज्दात रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न नौवटा वाणिज्य बैंकमा नेपाली रुपैयाँ तथा हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा अमेरिकी डलरमा रकम जम्मा भएको छ।
कार्यालयका अनुसार नौवटा वाणिज्य बैंकमा रहेका खातामा हाल ११ अर्ब २७ करोड २ लाख ६० हजार ६८५ रुपैयाँ मौज्दात छ। यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ४८ लाख ४ हजार ७०२ अमेरिकी डलर मौज्दात रहेको छ।
नेपाली रुपैयाँ र अमेरिकी डलर खातामा रहेको रकमलाई समेट्दा कोषका सबै खातामा गरी १५ अर्ब ६ करोड ५६ लाख २८ हजार १६७ रुपैयाँ बराबरको मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट रसुवासहित नुवाकोट र धादिङमा समेत ठूलो जनधनको क्षति भएपछि सरकारले राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग जुटाउँदै आएको छ।
बाढीपछि प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि सरकारले कोषमा जम्मा भएको रकमबाट एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ। उक्त रकम प्रभावित क्षेत्रमा आवश्यक राहत तथा पुनर्स्थापनाका काममा खर्च गर्ने गरी निकासा गरिएको हो।
बाढीका कारण प्रभावित परिवारको पुनर्स्थापना, क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा अन्य पूर्वाधारको पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने देखिएको छ। त्यसका लागि सरकार तथा विभिन्न संघसंस्था, निजी क्षेत्र र सर्वसाधारणबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने रकम विपद्का बेला उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रयोग हुँदै आएको छ। पछिल्लो विपद्पछि पनि यही कोषमार्फत प्रभावित क्षेत्रका लागि आर्थिक स्रोत परिचालन भइरहेको सरकारले जनाएको छ।
कोषमा जम्मा भएको रकमको प्रभावकारी परिचालन तथा प्रभावित परिवारसम्म राहत पुर्याउनु अहिलेको मुख्य चुनौतीका रूपमा रहेको छ। बाढीबाट क्षति भएका संरचनाको पुनर्निर्माणसँगै घरबार गुमाएका परिवारको दीर्घकालीन पुनर्स्थापनाका लागि समेत थप स्रोत आवश्यक पर्ने देखिएको छ।






