काठमाडौं । रसुवाको टिमुरेस्थित नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राखिएको छ।

गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी सीमा नाकामा शनिबार सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले राष्ट्रिय झण्डा राखेको हो।

ADVERTISEMENT

भोटेकोशी नदीमा आएको बाढीले सीमा क्षेत्रमा नेपालतर्फ रहेका सम्पूर्ण संरचना तथा आवतजावतको बाटोमा क्षति पुर्‍याएपछि केही समय त्यहाँ पुग्न कठिन भएको थियो।

ADVERTISEMENT

सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेबाट गएको टोलीले करिब तीन किलोमिटर जोखिमयुक्त भीर पार गरेर सीमा नाकासम्म पुग्दै झण्डा राखेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

बाढीपछि सीमा क्षेत्रतर्फ जाने सडक तथा संरचनामा ठूलो क्षति पुगेको थियो। यस्तो जोखिमपूर्ण अवस्थाबीच सुरक्षा टोलीले सीमा नाकामा पुगेर राष्ट्रिय झण्डा राखेको हो।

ADVERTISEMENT

राष्ट्रिय झण्डा पुनः राखिएसँगै बाढीबाट क्षतिग्रस्त सीमा क्षेत्रमा नेपालको उपस्थिति र सुरक्षा निकायको सक्रियता कायम रहेको सन्देशसमेत गएको छ।