काठमाडौं । अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीहरूका लागि व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ।

सरकारले बाढीका कारण मर्मतसम्भार गर्न नसक्ने गरी क्षतिग्रस्त भएका वा बाढीले बगाएर हराएका व्यावसायिक सवारी तथा ढुवानी साधनको दर्ता खारेज गरी सोही प्रकृतिका नयाँ सवारी पुनःआयात गर्दा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छुट दिने निर्णय गरेको छ।

ADVERTISEMENT

त्यस्तै, बाढीका कारण प्राकृतिक व्यक्ति वा निकायको प्लान्ट, मेसिनरी, यन्त्र तथा उपकरण पूर्ण रूपमा नष्ट भएको अवस्थामा नष्ट भएको परिमाणभन्दा बढी नहुने गरी सोही प्रकृतिका उपकरण आयात गर्दा लाग्ने सम्पूर्ण भन्सार महसुल छुट दिने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

यसैगरी, भदौ १० गतेको बाढीका कारण गन्तव्यमा पुग्नुअघि नै आयातित वस्तु नष्ट भएको तर आयातकर्ताले त्यसको भन्सार महसुल बुझाइसकेको अवस्थामा ६ महिनाभित्र सोही प्रकृतिको वस्तु पुनः आयात गर्दा पहिले तिरेको महसुल बराबरको रकम समायोजन गर्न दिने निर्णय सरकारले गरेको छ।

सरकारले बाढीबाट क्षतिग्रस्त व्यवसाय तथा पूर्वाधारलाई पुनः सञ्चालनमा ल्याउन कर तथा भन्सार सहुलियतमार्फत प्रभावित व्यवसायीलाई राहत दिने उद्देश्यले यस्तो प्याकेज ल्याएको हो।