काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्का बेला सबै पक्षबीच समन्वय गरेर अघि बढ्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले विषयविज्ञ, प्राविधिक तथा अनुभवी व्यक्तिहरूसँग पर्याप्त सुझाव नलिएको भन्दै विपद् व्यवस्थापनमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

ADVERTISEMENT

प्रचण्डले २०७२ सालको भूकम्प, सिन्धुपाल्चोकको जुरे पहिरो, मनाङको बाढी तथा बझाङ र जाजरकोट भूकम्पलगायतका विपद्को सामना गर्दा तत्कालीन सरकार र राजनीतिक दलहरूले मिलेर काम गरेको स्मरण गरे।

ADVERTISEMENT

उनका अनुसार २०७२ सालको भूकम्पका बेला राजनीतिक रूपमा जटिल अवस्था हुँदाहुँदै पनि सत्तापक्ष र प्रतिपक्ष एकजुट भएर विपद्को सामना गरेका थिए। जुरे पहिरोपछि भोटेकोशी थुनिँदा तल्लो तटीय क्षेत्रमा उत्पन्न त्रासलाई पनि सुरक्षाकर्मी, नागरिक समाज र राजनीतिक दलबीचको समन्वयबाट व्यवस्थापन गरिएको उनले बताए।

जाजरकोट भूकम्पपछि आफू बिहानै प्रभावित क्षेत्रमा पुगेको र सुरक्षाकर्मी, भूगर्भविद् तथा विकास निर्माणका विज्ञहरूसँग नियमित छलफल गरेको प्रचण्डले बताए। त्यही अनुभव र छलफलका आधारमा आफूले अन्तर्राष्ट्रिय मञ्चमा ग्लोबल वार्मिङ, जलवायु परिवर्तन र क्लाइमेट जस्टिसका विषय उठाएको उनको भनाइ छ।

ADVERTISEMENT

बढ्दो तापक्रमका कारण चट्टान र हिउँबीचको सम्बन्धमा परिवर्तन आउँदा नेपालमा मात्रै नभई विश्वमै जोखिम बढ्न सक्ने विषय आफूले अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाएको प्रचण्डले बताए।

वर्तमान सरकार भने विषयविज्ञ, प्राविधिक तथा विपद् र विकास विज्ञहरूको सुझाव लिएर सबैलाई साथमा अघि बढ्न असफल भएको उनको आरोप छ। सरकार सेना परिचालनमा बढी केन्द्रित देखिएको तर जनपरिचालन र राज्यका विभिन्न संयन्त्रबीच प्रभावकारी समन्वय गर्न नसकेको प्रचण्डको टिप्पणी छ।