काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी गरेकोमा खुसी व्यक्त गरेका छन्।

प्रचण्डले सामाजिक सञ्जालमार्फत सरकारको पहलप्रति धन्यवाद दिँदै हेटौँडा कपडा उद्योग सञ्चालनमा आए कपडा उपभोगमा रहेको नेपालको आयातनिर्भरता घट्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

ADVERTISEMENT

उनले आफू सरकारको नेतृत्वमा रहँदा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार भएको स्मरण गर्दै त्यसैका आधारमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योगसहित गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखानालगायत सार्वजनिक उद्योग पुनः सञ्चालन गर्ने विषय अघि बढाइएको जानकारी दिएका छन्।

ADVERTISEMENT

सघन गृहकार्यपछि अघि बढाइएको प्रक्रिया आफू सरकारबाट बाहिरिएसँगै रोकिएको भए पनि अहिले पुनः अघि बढ्नु सुखद भएको प्रचण्डको भनाइ छ।

उनले हेटौँडा कपडा उद्योगसँगै सम्भावना भएका अन्य सार्वजनिक उद्योगलाई समेत आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित पुनः सञ्चालनमा ल्याउन सके आत्मनिर्भर अर्थतन्त्र निर्माणमा नेपालले ठूलो फड्को मार्न सक्ने बताए।

ADVERTISEMENT

देशमा उत्पादन बढाउने, आयात घटाउने र रोजगारी सिर्जना गर्ने दिशामा सार्वजनिक उद्योगको पुनरुत्थान महत्वपूर्ण कदम हुने उल्लेख गर्दै प्रचण्डले सरकारलाई प्रक्रिया परिणाममुखी ढंगले अघि बढाउन आग्रह गरेका छन्।