काठमाडौं । नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले गरेको आन्दोलनकै कारण मधेशी समुदायका वालेन्द्र शाह बालेन प्रधानमन्त्री बनेको जिकिर गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई रगतले लेखिएको कथाको संज्ञा दिए। प्रतिनिधिसभामा महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु, उपेक्षित उत्पीडित समुदाय र वर्गको इन्द्रधनुषी प्रतिनिधित्व आफ्ना लागि महत्वपूर्ण भएको उनको भनाइ छ ।

ADVERTISEMENT

संघीय संसदमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठूलो उपलब्धि ठानेको उनकाे दाबी छ ।

ADVERTISEMENT

‘परिणामका दृष्टिले सानो ठूलो जो–जे सुकै भए पनि संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको यो प्रतिनिधि सभामा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, उपेक्षित उत्पीडित समुदाय र वर्गको इन्द्रधनुषी प्रतिनिधित्व मेरा लागि पार्टीको विजयभन्दा महत्वपूर्ण छ, महत्वपूर्ण रहनेछ,’ उनले भने ।

प्रचण्डले विगत र वर्तमानबीच तथ्यांकमै आधारित तुलना गर्दै संसदको रूपान्तरणलाई स्पष्ट पारे। आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु र पिछडिएका समुदायको प्रतिनिधित्वमा पनि ठूलो उपलब्धि भएको उहाँले उल्लेख गरे।

ADVERTISEMENT

उनले राजनीतिक दलहरूलाई पुरानो र नयाँका आधारमा मात्रै वर्गीकरण गर्नु दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले त्रुटिपूर्ण रहेको सुनाए।

प्रचण्डले सबै पुराना नेतृत्वलाई एउटै डालोमा राखेर गरिने आलोचनामा सत्यता नरहेको जिकिर गरे। ‘पुराना नेता र पुराना पार्टीका नाममा एउटा गलत भाष्य निर्माण गरिएको छ, जहाँ सबैलाई उस्तै देखाउन खोजिन्छ र त्यसमा मलाई पनि घिसार्न खोजिन्छ,’ उनले भने, ‘के त्यो सत्य हो त ? पक्कै होइन। सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो।’

प्रचण्डले झन्डै दुई तिहाइको संख्या रहेकै दम्भमा रास्वपा पनि निरंकुश बन्ने बाटोमा लागेको हो भन्दै उनले प्रश्न गरे । प्रधानमन्त्री बालेन जसरी अहिले अघि बढेका छन्, त्यसले राम्रो संकेत नदेखाएको उनले टिप्पणी गरे । प्रचण्डले बहुमतकै बलमा सुरक्षा फौज लगाएर निमुखा सुकुमवासीमाथि दमन गरिएको भन्दै सरकारको आलोचना गरे ।

प्रचण्डले प्रधानमन्त्रीले संसदको मर्यादा राख्न सक्नुपर्ने बताए । प्रधानमन्त्रीले मर्यादा नराखे संसदको गरिमा नजोगिने उनले बताए । सोमबारको घटनाले राम्रो सन्देश नदिने उनको भनाइ छ ।