काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहसंयोजक माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन् । एमाले अध्यक्ष केपी ओली र प्रचण्डबिच भएको तीनबुँदे समझदारीप्रति असन्तुष्ट रहेको खबर पाएपछि उनलाई फकाउने उद्देश्यले प्रचण्ड कोटेश्वर पुगेको बताइन्छ ।

शनिबार ओली र प्रचण्डबिच पाँचवटा प्रदेशमा सरकार गठन गर्ने र शक्ति बाँडफाँट गर्ने गरी भएको तीनबुँदे सहमति भएको थियो । कुनै तयारी र छलफलविनै प्रचण्डले सहमति गरेकोप्रति नेपालले असन्तुष्टि जनाउँदै आएका छन् । उक्त सहमति ‘सत्ता केन्द्रित’ मात्र भएको र नीतिगत स्पष्टता नभएको नेपालको आरोप छ ।

ADVERTISEMENT

सोमबार बिहान साढे ९ बजे भएको भेटवार्तामा यिनै विषयमा केन्द्रित रहेर छलफल भएको बुझिएको छ । माधव नेपालका सहयोगी लक्ष्मण रेग्मीका अनुसार, भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता समीकरणलाई बलियो बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भएको छ । प्रचण्डले नेपाललाई आश्वस्त पार्ने प्रयास गरेको बताइएको छ ।

शनिबारको सहमति अनुसार नेकपा एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिने र नेकपाले कर्णाली र सुदूरपश्चिममा मुख्यमन्त्री लिने उल्लेख छ ।

ADVERTISEMENT