काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सही ढंगले अघि नबढेको निष्कर्ष सुनाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले देशको समग्र राजनीतिक अवस्था सहज नरहेको उल्लेख गर्दै सरकारका गतिविधिले जनताको अपेक्षा पूरा गर्न नसकेको टिप्पणी गरे।

ADVERTISEMENT

प्रचण्डले बोलबमको धार्मिक यात्राका सन्दर्भमा भएको विवादले भएको घटनाले ठूलो साम्प्रदायिक विद्वेषको रुप लिने त होइन भन्ने चिन्ता उब्जिएको बताए ।

‘समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो । त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन ?’ उनले भने, ‘समस्या समाधानको अन्य विकल्पमा के कति पहल गरियो अथवा गरिएनलगायत विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन सरकारसँग अपिल गर्छु ।’

ADVERTISEMENT

पूर्वप्रधानमन्त्री प्रचण्डले निर्वाचनबाट जनताले प्रकट गरेको अभिमतप्रति सरकारले सन्तुष्ट पार्न नसकेको उनको भनाइ छ । ‘गत निर्वाचनमा जनताले ठूलो अपेक्षासहित अभिमत दिएका थिए। तर, सरकारका क्रियाकलापले ती अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन। बरु दिनप्रतिदिन परिस्थिति अझ असहज बन्दै जाने हो कि भन्ने चिन्ता बढेको छ।’

सुनसरी,मोरङलगायत क्षेत्रमा सिर्जित परिस्थितिलाई संवाद र सहकार्यको माध्यमबाट समाधान गर्नुपर्ने बताए। प्रचण्डले सुनसरी घटनाको सत्यतथ्य निष्पक्ष रूपमा बाहिर ल्याउन सरकारसँग माग गरे।

उनले संवेदनशील र महत्वपूर्ण विषयमा छलफल भइरहेका बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिप्रति पनि चिन्ता व्यक्त गरे।

सर्वदलीय बैठक मात्र होइन, संसदमा राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्दा प्रधानमन्त्री बैठक छाडेर हिँडेको, गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेनले आफूले वाचन नगरी राष्ट्रपतिलाई बोल्न दिएकोलगायतका घटनाले प्रधानमन्त्रीको कार्यशैली ठीक ढंगको नभएको उनको भनाइ छ ।

वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै उनले विपक्षी दलहरूले साथ दिँदा पनि त्यसलाई बेवास्ता गरिएको र हेपिएकोमा उनले आपत्ति जनाए ।