काठमाडौं, भदौ १७ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा बैंकिङ व्यवसाय विस्तार, कर्जा गुणस्तर सुधार तथा आगामी रणनीतिबारे छलफल गर्न ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम : बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा बैंकका प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताका विषयमा छलफल गरिएको बैंकले जनाएको छ।
कोशी प्रदेशका १० जिल्लामा सिटिजन्स बैंकका २८ वटा शाखा सञ्चालनमा रहेका छन्। बैंकले प्रदेशमा आफ्नो सेवा विस्तारसँगै व्यवसायको गुणस्तर र कर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ।
बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाहमा वृद्धि भएको छ। बैंकको कर्जा लगानी १.२४ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको जनाइएको छ। त्यस्तै, निक्षेप संकलनमा ९.२२ प्रतिशतले वृद्धि भई २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।
सो अवधिमा बैंकको खुद नाफासमेत ६३.०५ प्रतिशतले वृद्धि भई २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।
सिटिजन्स बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न डिजिटल तथा आधुनिक बैंकिङ सेवासमेत विस्तार गर्दै आएको छ। बैंकले ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ सञ्चालनमा ल्याएको छ। साथै, फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष बचत खाता पनि सुरु गरेको बैंकले जनाएको छ।
बैंकका अनुसार मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराइएको छ। यसैगरी, क्रस बैंक टेलर सुविधामार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ वटा विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ। बैंकका अनुसार करिब २० लाख ६२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।
कोशी प्रदेशमा आयोजित कार्यक्रमलाई बैंकले केन्द्र र प्रदेशबीचको सहकार्य थप मजबुत बनाउँदै व्यवसाय विस्तार, कर्जा गुणस्तर तथा ग्राहक सेवामा सुधार ल्याउने रणनीतिक पहलका रूपमा लिएको जनाएको छ।







