काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको अर्धवार्षिक आर्थिक प्रतिवेदनले प्रदेशको अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिए पनि उद्योग, पर्यटन र कर्जा प्रवाहका क्षेत्रमा चुनौती कायम रहेको देखाएको छ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। गत आर्थिक वर्ष प्रदेशको आर्थिक वृद्धिदर २.७२ प्रतिशत रहेको थियो। प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२.४७ प्रतिशत, उद्योग क्षेत्रको १७.६७ प्रतिशत तथा सेवा क्षेत्रको योगदान ४९.८५ प्रतिशत रहने अनुमान छ।

कृषि क्षेत्रमा समग्र बाली उत्पादन ४.४ प्रतिशतले घटेको छ। धान उत्पादनमा सबैभन्दा ठूलो गिरावट देखिएको छ, जहाँ उत्पादन ४० प्रतिशतले घटेको छ। यद्यपि मकै, गहुँ, जौ, कोदो तथा कफी उत्पादनमा वृद्धि भएको छ। कफी उत्पादन मात्रै १७.६ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।

ADVERTISEMENT

पशुपालनतर्फ दूध उत्पादन १.९ प्रतिशत र माछा उत्पादन १६.५ प्रतिशतले बढेको छ भने मासु, अण्डा तथा ऊन उत्पादनमा कमी आएको छ। कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा २० प्रतिशतले घटेर ५५ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको छ।

ADVERTISEMENT

उद्योग क्षेत्रमा क्षमता उपयोग घटेर ४२.९ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४८.६ प्रतिशत थियो। भटमास तेल उद्योगले ९९.५ प्रतिशत क्षमता उपयोग गरेको देखिएको छ भने वनस्पति घिउ तथा घरेलु धातुजन्य सामग्री उत्पादन गर्ने उद्योगको क्षमता उपयोग केवल ४.३ प्रतिशत रहेको छ।

ADVERTISEMENT

उद्योग क्षेत्रमा कार्यरत श्रमिक संख्या भने ३.४ प्रतिशतले बढेर १७ हजार ९५३ पुगेको छ। समीक्षा अवधिमा औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ६४ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्, जुन प्रदेशमा प्रवाहित कुल कर्जाको २६.८ प्रतिशत हो।

बैंकिङ क्षेत्रमा निक्षेप ५.१ प्रतिशतले बढेर ५ खर्ब ८१ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। तर कर्जा प्रवाह ०.३ प्रतिशतले घटेर ६ खर्ब ११ अर्ब ६४ करोड रुपैयाँमा झरेको छ। यससँगै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ११९ प्रतिशतबाट घटेर १०५.१ प्रतिशतमा झरेको छ।

पर्यटन क्षेत्रमा भने मिश्रित अवस्था देखिएको छ। कोशी प्रदेशका नमुना होटलहरूको औसत अकुपेन्सी दर ५३.४ प्रतिशतबाट घटेर ३३.४ प्रतिशतमा झरेको छ। बाह्य पर्यटकको संख्या पनि १०.७ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ।

यता यातायात क्षेत्रमा जहाज उडान संख्या ४.३ प्रतिशतले बढेको छ। तर सवारीसाधन दर्ता २५.८ प्रतिशतले घटेको छ।

पूर्वाधार क्षेत्रमा भने उल्लेखनीय प्रगति देखिएको छ। कोशी प्रदेशको कुल विद्युत् उत्पादन क्षमता ९०० मेगावाट नाघिसकेको छ। पुष्पलाल मध्यपहाडी राजमार्गको भौतिक प्रगति ८२.६ प्रतिशत तथा हुलाकी राजमार्गको ७५ प्रतिशत पुगेको छ। कुशाहा–विराटनगर १३२ केभी प्रसारण लाइन आयोजनाको भौतिक प्रगति पनि ७७.१ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिवेदनले राजनीतिक स्थिरता कायम रहेमा कृषि, उद्योग, पर्यटन तथा पूर्वाधार क्षेत्रमा थप विस्तार भई प्रदेशको आर्थिक गतिविधिमा गति आउने अपेक्षा गरेको छ। तर उद्योगको घट्दो क्षमता उपयोग, पर्यटन क्षेत्रको सुस्तता र कृषि उत्पादनमा आएको गिरावटले प्रदेशको अर्थतन्त्रलाई अझै चुनौतीपूर्ण बनाइरहेको संकेत गरेको छ।