काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रले सरकारसँग सहकार्य गर्दै सहयोग घोषणा गर्न थालेको छ। सरकारले समेत विपद् प्रभावितका लागि सहयोग गर्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थालाई आह्वान गरेको छ।
ग्लोबल आइएमई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। त्यस्तै, एनसेलले प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि १ करोड रुपैयाँ उपलब्ध गराउने जनाएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना ग्राहकलाई एनसेलले तीन दिनका लागि भ्वाइस, डेटा तथा १०० वटा एसएमएस निःशुल्क उपलब्ध गराएको छ।
कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उद्धार कोषमा ३ करोड रुपैयाँ जम्मा गरिसकेको जनाएको छ। बैंकले खोज तथा उद्धारका लागि एआई जडित पाँचवटा निगरानी ड्रोन, तीनवटा पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंकसमेत प्रभावित क्षेत्रमा पठाएको छ।
यस्तै,चिनियाँ विद्युतीय सवारी निर्माता बीवाइडीले ७ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ भने उद्यमी शेखर गोल्छाले गोल्छा समूहका तर्फबाट १ करोड ५० लाख रुपैयाँ राहत सहयोग गर्ने घोषणा गरेका छन्। उनले विपद्को समयमा निजी क्षेत्र सरकार र प्रभावित समुदायसँग मिलेर उद्धार तथा पुनःस्थापनामा योगदान दिनुपर्ने बताएका छन्।
नेपाल बैंकर्स संघले पनि बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा बैंकिङ क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। संघका अनुसार प्रभावित क्षेत्रमा रहेका अधिकांश बैंक कर्मचारी सुरक्षित भए पनि केही शाखा कार्यालयमा क्षति पुगेको छ भने विद्युत्, इन्टरनेट तथा सञ्चार सेवामा आएको अवरोधका कारण नियमित बैंकिङ सेवा प्रभावित भएको छ।
यसैबीच, नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) ले आफ्ना सदस्य संस्थालाई राहत तथा उद्धारमा सहयोग गर्न आह्वान गर्दै तत्काल १० लाख रुपैयाँ सहयोग पठाउने निर्णय गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघले पनि उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सक्रिय हुन निजी क्षेत्रलाई आग्रह गरेको छ।






