काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा १० लाख रुपैयाँ आर्थिक सहयोग पठाउने निर्णय गरेको छ ।
बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥र्याउने उद्देश्यले नाडाले उक्त आर्थिक सहयोग पठाउने निर्णय गरेको हो ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नाडाले गहिरो दुःख व्यक्त गरेको छ ।
नाडाले प्राकृतिक विपद्का कारण ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
नाडाले नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई एकबद्ध भई सहकार्य गर्दै उद्धार र राहतमा सहयोग पुर्याउन हार्दिक आह्वान गरेको छ ।
विपद्पछिको यस अत्यन्त चुनौतीपूर्ण घडीमा सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारी संयन्त्रले देखाएको तत्परता र अथक परिश्रमप्रति नाडाले कृतज्ञता व्यक्त गरेको छ ।
विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिक सबैको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने दृढ विश्वास नाडाले गरेको छ ।
आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्नुपर्ने अवस्था रहेकाले भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर सञ्चालनमा रहने जानकारी नाडाले गराएको छ ।






