काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र बनेको छ।

बाढी प्रभावितको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकारी निकायदेखि निजी क्षेत्र, विभिन्न संघसंस्था तथा सर्वसाधारणले सहयोग गरिरहेका छन्।

ADVERTISEMENT

पछिल्लो विवरणअनुसार बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै ६ अर्ब रुपैयाँ सहयोग संकलन भएको छ। बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न आह्वान गरेसँगै कोषमा देशभित्र र विदेशबाट सहयोग आउने क्रम बढेको हो।

ADVERTISEMENT

सरकारका अनुसार संकलित रकम बाढी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनदेखि क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणसम्मका काममा परिचालन गरिनेछ।

बाढीपछि संकलन भएको झण्डै ६ अर्ब रुपैयाँबाहेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यसअघि नै २ अर्ब ८ करोड रुपैयाँ मौज्दात थियो। पछिल्लो सहयोग रकम र यसअघिको मौज्दात जोड्दा कोषमा ८ अर्ब रुपैयाँभन्दा बढी रकम पुगेको छ।

ADVERTISEMENT

सरकारले कोषमा जम्मा भएको रकम पारदर्शी र प्रभावकारी रूपमा परिचालन गर्ने जनाएको छ। बाढी प्रभावितका लागि निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, विभिन्न संघसंस्था, राजनीतिक दल, स्थानीय तह, कर्मचारी तथा सर्वसाधारणले आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन्।

यसैगरी विदेशमा रहेका नेपाली तथा विभिन्न अन्तर्राष्ट्रिय समुदायबाट समेत सहयोग जुटाउने प्रयास भइरहेको छ। सरकारले प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतसँगै पुनःस्थापनाको काम अघि बढाउने र आवश्यकताअनुसार पुनर्निर्माणका लागि थप स्रोत परिचालन गर्ने जनाएको छ।