काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्रीसहित सरकार पुनर्गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सुझाव दिएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै बादलले रास्वपाका सभापति लामिछानेले पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतले तत्काल सरकार पुनर्गठनका लागि पहल गर्नुपर्ने बताएका हुन्।
‘रास्वपाका सभापतिज्यूले पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्छ,’ उनले भने।
बादलले सरकार पुनर्गठनमार्फत वर्तमान समस्या समाधान गर्नुपर्ने धारणा राख्दै त्यसो नगरिए आन्दोलनको अवस्था आउन सक्ने चेतावनी दिए।
उनले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमा जनताले ठूलो प्रतिरोध गर्न सक्ने दाबी गरे। ‘अन्तिम विकल्प बाँकी छ,’ भन्दै उनले सरकार नसच्चिए विगतका ठूला राजनीतिक आन्दोलनभन्दा पनि विशाल जनआन्दोलन हुन सक्ने बताए।
बादलले २००७, २०४७ र २०६२/६३ सालका आन्दोलनभन्दा ठूलो ‘जनसुनामी’ आउने चेतावनी दिँदै त्यसलाई रोक्न सरकार गम्भीर बन्नुपर्ने बताए।





