काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक विद्रोहको आपश्यकता रहेको बताएका छन् ।

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित ‘बोत्ले हत्याकाण्ड’ स्मृति समारोहलाई सम्बोधन गर्दै उनले नयाँ विद्रोहको संकल्पसहित अघि बढ्ने दाबी गरे । उनले अहिले पार्टी त्यसैको तयारीमा रहेको पनि बताए ।

ADVERTISEMENT

‘हामीले बल गरिरहेका छौँ, एकताबद्ध भएर प्रतिक्रियावादी षड्यन्त्र रोक्न हामीले कोसिस गरिरहेका छौँ’, उनले भने, ‘जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधानसभा हुँदै आजसम्म जीवित रहेकोमा र नेतृत्वमा पनि भइराखेको कारणले एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरुलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हामी हिँडिराखेका छौं ।’

प्रचण्डले जनयुद्ध दिवस मनाउने आफू नेतृत्वको सरकारको निर्णयमा रोक लगाउने अदालतको आदेशप्रति आपत्तिसमेत जनाए । ‘वास्तवमा यो विषय अदालत प्रवेश गर्ने र गराउने खालको विषय नै होइन, अदालतको आदेश एक ठाउँमा छ, तर हामीले जनयुद्ध सुरु भएको दिनलाई राष्ट्रिय दिवसको रुपमा मानाउनेछौ’, उनले भने ।

ADVERTISEMENT

प्रचण्डकै नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सशस्य विद्रोह सुरु भएको थियो । दस वर्षे विद्रोहमा १७ हजार नेपाली नागरिकले ज्यान गुमाएका थिए । सयौं बेपत्ता, हजारौंको अंगभंग तथा अर्बौको सम्पत्ति नष्ट भएको थियो । २०६३ मा शान्तिपूर्ण राजनीतिमा आएदेखि माओवादी पछिल्लो एक वर्ष मात्रै हो सरकारबाट बाहिर बसेको । प्रचण्ड आफैं तीन तीनपटक प्रधानमन्त्री बने । तर कुनै परिवर्तनको महसुस जनताले गर्न पाएका छैनन् । विपक्षमा पुगेपछि जहिल्यै पनि प्रचण्डले नयाँ क्रान्ति र विद्रोहको धम्की दिने गरेका छन् ।