काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरिएको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३८ औँ बैठकले बेपत्ताहरूलाई मृत घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
समितिका अनुसार ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार २९२ नेपाली र १९ विदेशी नियोगबाट प्राप्त सूचीका आधारमा पुष्टि भएका ६२३ विदेशी गरी कुल ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस गरिएको हो।
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत्यु घोषणा गर्न सक्ने व्यवस्था छ।
यसअघि नेपाली नागरिकका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण संकलन गरिएको थियो।
विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूचीका आधारमा दाबी पेस गर्न प्राधिकरणले दुई चरणमा सातदिने सूचना प्रकाशन गरेको थियो।
यसैबीच, बैठकले ‘सबैका लागि पूर्वसूचना’ राष्ट्रिय मार्गचित्र २०८३/०८७ स्वीकृत गरेको छ। सन् २०८७ सम्म नेपालका सबै समुदायमा प्रकोपसम्बन्धी पूर्वसूचना पुर्याउने लक्ष्यसहित बहुप्रकोप पूर्वसूचना प्रणाली विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालन गर्ने मार्गचित्रमा उल्लेख छ।
बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ एवं कार्ययोजना २०८३/८४–२०९१/९२ र वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना २०८३–२०८७ पनि स्वीकृत गरेको छ।
त्यस्तै, डडेल्धुराको आलिताल गाउँपालिका–१ स्थित भोका गाउँका २४ र माला गाउँका २२ घरधुरी तथा वडा नम्बर २ को बलौचा गाउँका २२ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्वीकृति दिइएको छ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित मुडुङ्गे बस्तीका ४० घरधुरीलाई सोही स्थानीय तहको फुदवाङ र गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित देवल गाउँका ३२ घरधुरीलाई फिलिम गाउँमा स्थानान्तरण गर्न पनि बैठकले स्वीकृति दिएको छ।












