काठमाडौँ – नेपाल क्रिकेट संघले सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको छ।
क्यानले रोहित पौडेललाई हटाएर लामिछानेलाई नेपाली एकदिवसीय (ओडीआई) टोलीको कप्तान नियुक्त गरेको हो। मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि क्यानले सोमबार लामिछानेको नेतृत्वमा नेपाली टोली घोषणा गरिएको छ।
यससँगै पौडेललाई टी–२० सँगै ओडीआईको नेतृत्वबाट पनि हटाएको छ। क्यानले यसअघि नै टी–२० टोलीको कप्तानमा दीपेन्द्रसिंह ऐरीलाई नियुक्त गरिसकेको छ।
लामिछाने चार वर्षपछि नेपाली टोलीको नेतृत्वमा फर्किएका हुन्। नाबालक बलात्कारको आरोप लागेपछि २०७९ सालमा उनलाई कप्तानबाट हटाइएको थियो।
त्यतिबेला उनलाई राष्ट्रिय टोलीबाट पनि निलम्बन गरिएको थियो। पछि अदालतबाट सफाइ पाएसँगै राष्ट्रिय टोलीमा फर्किएका थिए। अहिले क्यानले कप्तानमा फर्काएको छ।

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डेय, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन्।
एसीसी प्रिमियर कप आउँदो भदौ १४ देखि २७ गतेसम्म मलेसियामा हुनेछ।





