काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ।

गृहमन्त्री सुधन गुरुङ र मेहताका अभिभावकबीच सोमबार भएको वार्तामा मृतकलाई शहीद घोषणा गर्ने प्रक्रियादेखि घटनाको निष्पक्ष छानबिन र परिवारलाई रोजगारी उपलब्ध गराउनेसम्मका विषयमा सहमति भएको हो।

सहमतिअनुसार रवीन्द्रकुमार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। त्यस्तै, साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषी देखिएकामाथि प्रचलित कानुनअनुसार तत्काल कारबाही अघि बढाउने सहमति भएको छ।

ADVERTISEMENT

देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा समेत आवश्यक छानबिन तत्काल सुरु गर्ने सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

ADVERTISEMENT

सरकारले मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने भएको छ। घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसलाई प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ।

त्यस्तै, नेपाल सरकारले मृतकको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत देवानगञ्ज गाउँपालिका–३, सुनसरी पुर्‍याउने व्यवस्था गर्ने भएको छ। त्यसपछि मृतकको दाहसंस्कार गरिनेछ।

घटनामा मृत्यु भएका तीन जनाको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा यसै वर्ष बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।

रवीन्द्रकुमार मेहताको शव पछिल्लो छ दिनदेखि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो। सरकार र परिवारबीच सहमति भएसँगै शव सुनसरी लगेर अन्त्येष्टि गर्ने बाटो खुलेको छ।