बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस भवनका भग्नावशेषमा पुरिएको आशंका गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन सहरको बीचमा पर्ने चोको क्षेत्रको सान जोसे डेल पाल्मारमा ८२ किलोमिटर गहिराइमा रहेको थियो।
पेरेरा सहरका मेयर मौरिसियो सालाजारले १८ जनाको मृत्यु भएको पुष्टि गर्दै अन्य मानिस भत्किएका भवनभित्र पुरिएको जानकारी दिएका छन्। काली सहरमा मात्रै कम्तीमा २० वटा भवन भत्किएको र ती भवनमा मानिसहरू च्यापिएको मेयर अलेहान्ड्रो एडरले बताएका छन्।
भूकम्पको धक्का कोलम्बियाका विभिन्न सहरसँगै छिमेकी मुलुक भेनेजुएलासम्म महसुस गरिएको थियो। क्विब्डो, पेरेरा र मनिजालेस लगायतका सहरमा भौतिक क्षति पुगेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा भत्किएका भवन तथा मनिजालेसस्थित ऐतिहासिक क्याथेड्रलमा क्षति पुगेको देखिएको छ। पराकम्पको जोखिमका कारण विभिन्न सहरमा भवन खाली गराइएको छ भने देशका ६ वटा विमानस्थलले उडान सेवा बन्द गरेका छन्।
चोको क्षेत्रकी गभर्नर नुपिया क्यारोलिना कोर्डोबा–क्युरीले ठूलो भूकम्पपछि पराकम्पको जोखिम रहेको भन्दै क्षतिको विवरण संकलन भइरहेको जानकारी दिएकी छन्। क्विब्डोमा भौतिक क्षति हुनुका साथै मानिसहरू घाइते भएको उनले बताएकी छन्।
भूकम्पपछि कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले आपत्कालीन उद्धार तथा राहत कार्यको नेतृत्व आफैँले लिने घोषणा गरेका छन्। उनले क्षतिको समन्वय र प्रभावितलाई सहयोग गर्न एकीकृत कमाण्ड पोस्ट स्थापना गर्न निर्देशन दिँदै आफू पेरेरा पुग्ने बताएका छन्।





