काठमाडौँ । एनएमबि बैंक लिमिटेडले ६५ मेगावाट क्षमताको मनाङ जिल्लामा अवस्थित दूधखोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।
मनाङमा निर्माण भइरहेको दूधखोला जलविद्युत आयोजना, दूधखोला हाइड्रो पावर कम्पनी प्रालिद्वारा प्रवर्द्धन गरिएको जलविद्युत आयोजना हो । दूधखोला हाइड्रो पावर कम्पनी प्रालिको प्रमुख लगानीकर्ता भने माउण्टेन इनर्जी नेपाल लि. तथा श्री सीताराम तिमिल्सिनाको समूह रहेको छ ।
यस आयोजनामा एनएमबि बैंक अगुवा बैंकको रुपमा रहेको छ भने सानिमा बैंक लिमिटेड सह—अगुवा बैंकको रुपमा रहेको छ । ६५ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत रु. १२ अर्ब ९० करोड रहेको छ जसमध्ये बैकहरूको ऋण लगानी ९ अर्ब ६७ करोड रहनेछ ।
एनएमबि बैंकले ५० वटाभन्दा बढी जलविद्युत आयोजनाहरूमा लगानी गरिसकेको छ । एनएमबि बैंकको तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल तथा कम्पनीको तर्फबाट अध्यक्ष अरुण केसीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नेपाल राष्ट्र बैंकद्वारा जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका, २०२२ अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै लगानीका वातावरणीय तथा सामाजिक पक्षहरुको मूल्याङ्कनका आधारमा जिम्मेवार लगानी सुनिश्चित गर्दै आएको छ ।
एनएमबि बैंकले हाल देशभरि १९८ शाखा, १७६ एटीएम र ९ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।





