काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्वदेश फर्किने मिति परिवर्तन भएको छ। यसअघि २६ साउनमा नेपाल फर्किने भनिएका देउवा अब २८ साउनमा काठमाडौं आउने भएका छन्।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा आगामी बिहीबार दिउँसो १२ः३० बजे काठमाडौं अवतरण गर्नेछन्। कांग्रेस संस्थापनइतर समूहका प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले पनि देउवाको स्वदेश फर्किने समय परिवर्तन भएको पुष्टि गरेका छन्। उनका अनुसार देउवा बिहीबार थाई एयरको उडानमार्फत दिउँसो १२ः३० बजे काठमाडौं आइपुग्नेछन्।
यसअघि महतले देउवा २६ साउन राति ९ः४५ बजे स्वदेश फर्किने जानकारी दिएका थिए। तर, रातिको समयमा विमानस्थलमा स्वागतका लागि नेता–कार्यकर्ता उपस्थित हुन असहज हुने भएकाले फर्किने समय परिवर्तन गरिएको विश्वकर्माले बताए। ‘फ्लाइट २६ गते राति थियो। राति नआउनुस्। हामीले स्वागत गर्न पाउनुपर्यो भन्यौँ,’ विश्वकर्माले भने, ‘अनि डेट सरेको हो। समय पनि दिउँसो भयो।’
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका देउवा उपचारका लागि विदेश गएका थिए। उनी १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए।
त्यसपछि थप उपचारका लागि ७ चैत २०८२ मा सिंगापुरबाट हङकङ पुगेका थिए। लामो समय विदेशमा उपचार गराएर देउवा स्वदेश फर्किन लागेका हुन्। उनको नेपाल आगमनलाई लिएर कांग्रेसभित्र स्वागतको तयारीसमेत भइरहेको छ।
यसैबीच, कांग्रेसको संस्थापनइतर समूहले २९ साउनदेखि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। उक्त भेलालाई पूर्वसभापति देउवाले सम्बोधन गर्ने बताइएको छ। भेलाको तयारीका लागि संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिसकेको छ।





