काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले प्रधानमन्त्री बालेन शाहको ‘एक्लै लड्नुपर्छ’ भन्ने अभिव्यक्तिको जवाफ दिएका छन्।

प्रधानमन्त्री शाहले शुक्रबार राति सामाजिक सञ्जालमार्फत ‘केही समय लाग्ने’ र ‘कहिलेकाहीँ एक्लै लड्नुपर्ने’ बताएका थिए। त्यसको जवाफ दिँदै झाले परिवर्तनका लागि जनादेश पाएको सरकारमा कोही पनि एक्लो नरहेको बताएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत झाले सरकारमा आफूहरू सबै साथमा रहेको उल्लेख गरेका छन्। ‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ,’ उनले लेखेका छन्।

ADVERTISEMENT

सरकारको नियत र आशयमा आफूलाई शंका नरहेको उल्लेख गर्दै झाले सुधार गर्नुपर्ने केही पक्ष भने रहेको बताएका छन्। ‘हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शंका छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्,’ उनले भनेका छन्।

ADVERTISEMENT

जनताले दिएको ऐतिहासिक अवसर खेर जान नदिन सरकारलाई निरन्तर सजग गराउने र आवश्यक विषयमा सचेत गराउने काम जारी राख्ने झाको भनाइ छ। उनले जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्नेमा जोड दिएका छन्।‘म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन,’ झाले लेखेका छन्।

प्रधानमन्त्री शाहले शुक्रबार राति फेसबुकमार्फत सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन आग्रह गरेका थिए। उनले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने तथा कहिलेकाहीँ एक्लै लड्नुपर्ने बताएका थिए।

शाहको उक्त अभिव्यक्तिपछि झाको प्रतिक्रिया आएको हो। उनको प्रतिक्रियाले सरकारभित्रैबाट प्रधानमन्त्रीको अभिव्यक्तिप्रति राजनीतिक सन्देश दिन खोजिएको देखिन्छ।