काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १७ जना सांसदमाथि भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा अनुसन्धान गर्न सिफारिस गरेको छ ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा सभापति लामिछाने नख्खु कारागारबाट बाहिरिँदा कैदीबन्दी बाहिर पठाउने घटनामा संलग्नता रहेको उल्लेख गर्दै उनीमाथि सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

ADVERTISEMENT

त्यही घटनामा रास्वपाका प्रवक्ता मनिष झा र नेता हरि ढकालमाथि पनि अनुसन्धान गर्न आयोगले आग्रह गरेको छ ।

यसैगरी सांसदहरू सुधन गुरुङ, दीपक बोहरा, गणेश कार्की, सुलभ खरेल, शिव यादव, बब्लु गुप्ता, कृष्णकुमार कार्की, डा. तोसिमा कार्की, राजीव खत्री, केपी खनाल, आशिका तामाङ, ज्वाला संग्रौला, सोम शर्मा र पुरुषोत्तम यादवमाथि पनि अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

आयोगले रास्वपाका केन्द्रीय सदस्य खेमराज साउद र बाजुराबाट पार्टीका उम्मेदवार बनेका हेमराज थापामाथि पनि अनुसन्धान आवश्यक रहेको जनाएको छ ।

प्रतिवेदनमा प्रदर्शनअघि, प्रदर्शनका क्रममा तथा त्यसपछिका उनीहरूका अभिव्यक्तिले प्रदर्शनकारीलाई उत्तेजित बनाउन भूमिका खेलेको हुनसक्ने विभिन्न कोणबाट टिप्पणी आएको उल्लेख गरिएको छ ।

राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको सूचना, सामाजिक सञ्जालमा व्यक्त धारणा तथा प्रकाशित समाचारका आधारमा उनीहरूको संलग्नताबारे अनुसन्धान गर्नुपर्ने आयोगको निष्कर्ष छ ।

प्रतिवेदनमा भनिएको छ, “उनीहरूको अभिव्यक्तिबाट प्रदर्शनकारी आक्रोशित र उत्तेजित भई सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पुगे/नपुगेको तथा दुरुत्साहन भए/नभएको विषयमा अनुसन्धान हुन आवश्यक देखिन्छ ।”

राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ को प्रदर्शन र त्यसपछिका घटनामा भएको मानवअधिकार उल्लंघनबारे अध्ययन गरी बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।