काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत अहिले पाँच पदाधिकारीको निर्वाचनका लागि मतदान जारी छ । रास्वपाको निर्वाचन आयोगले शुक्रबार दिउँसो ४ बजेसम्म मतदानको समय थप गरेको छ ।
निर्वाचन भइरहेकामध्ये सबैभन्दा बढी चर्चा महामन्त्री को बन्ला भन्ने भइरहेको छ । रास्वपाको एक निर्वाचित महामन्त्रीका लागि ११ जनाले उम्मेदवारी दिएका थिए । तर अहिले चारजना मनिष झा, विपिनकुमार आचार्य, सागर ढकाल र गणेश कार्की मात्र मैदानमा छन् । त्यसमाथि पनि रास्वपाको संस्थापन पक्षकै झा र आचार्यबीच कडा प्रतिस्पर्धा भइरहेको छ । ढकाल र कार्की बालेन निकट हुन् ।
धेरैजना उम्मेदवार हुँदा थोरै मतले जितहार हुन्थ्यो । त्यसैले सबैले आफूले जित्ने दाबी गर्दै आएका थिए । तर अहिले संस्थापन पक्षमै विभाजन आएको देखिएको छ । महामन्त्रीका उम्मेदवार आचार्यलाई समर्थन गर्दै प्रमोद न्यौपाने, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, रञ्जु दर्शनाले उम्मेदवारी फिर्ता लिएसँगै चुनाव पेचिलो बनेको छ ।
आफूलाई संस्थापन भन्दै केही उम्मेदवारले आचार्यलाई खुलेआम समर्थन गरेपछि रास्वपामा गुट छताछुल्ल भएको पुष्टि हुन्छ । त्यही भएर मनिष झाले सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै गुट बनाउनेलाई कारबाही गर्न आग्रह गरेका छन् ।
नेता झाले आफू महामन्त्री निर्वाचित भए मन्त्री नबन्ने घोषणा गरेका छन्। शुक्रबार महाधिवेशनस्थलमा पत्रकारहरुसँग कुरा गर्दै झाले आफूलाई मन्त्रालयको लोभ नभएको र पाँच वर्ष पार्टी सुधारमा सक्रिय रहने बताए।
‘मैले सभापति र उपसभापतिज्यूलाई भनिसके मलाई मन्त्रालयगत लोभ छैन। मलाई पार्टी सुधार्नु छ, पार्टीको व्यवस्थापकीय पाटो सुधार्नु छ। त्यसैले मलाई यो मौका दिनुस्, पाँच वर्षसम्म कुनै पनि मन्त्रालय दाबी गर्दिनँ भनेको छु,’ उनले भने।
पहिले संस्थापन निकट मानिएका झालाई हराउन अहिले विपिन आचार्य, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, प्रमोद न्यौपानेको मोर्चाबन्दी भएको देखिएको छ । यसले आगामी दिनमा रास्वपामा स्पष्ट ढंगले गुट उपगुट हुने देखिएकाे छ ।




