काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो चरणका विजेतालाई फोन गरेर बधाई दिएका छन्। १० लाख रुपैयाँका बम्पर विजेता कञ्चनपुर पुनर्वास नगरपालिकाका हेमराज जोशी र १ लाख रुपैयाँ विजेता रुपन्देहीकी सपना खरेलसँग उनले शुक्रबार प्रत्यक्ष संवाद गरेका हुन्।

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक राजस्व विभागले साउन १ देखि १५ गतेसम्मको पहिलो चरणको नतिजा सार्वजनिक गर्दै १५ जना एक–एक लाख रुपैयाँका विजेता र एक जना १० लाख रुपैयाँका बम्पर विजेता छनोट गरेको थियो।

फोनमा अर्थमन्त्री वाग्लेले हेमराज जोशीलाई बधाई दिँदै सरकारले बिल लिने र बिल दिने संस्कार प्रवर्द्धन गर्न सुरु गरेको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत उनले १० लाख रुपैयाँको बम्पर उपहार जितेको जानकारी दिएका थिए। जोशीले साउन ७ गते शिवकृष्ण जनरल स्टोर्सबाट २५० रुपैयाँको सामान क्यूआरमार्फत खरिद गरेको बताएका थिए।

ADVERTISEMENT

त्यसैगरी, १ लाख रुपैयाँ विजेता सपना खरेललाई पनि अर्थमन्त्रीले फोनमार्फत बधाई दिएका थिए। उनले साउन ९ गते देवदह नगरपालिका–मिलनचोकस्थित शुभसिद्धी सप्लायर्सबाट ९ सय रुपैयाँको तरकारी खरिद गरेकी थिइन्। अर्थमन्त्रीले उनलाई खरिदको बिल सुरक्षित राख्न आग्रह गर्दै पुरस्कार प्राप्तिको प्रक्रिया सम्बन्धी जानकारी आन्तरिक राजस्व विभागले उपलब्ध गराउने बताएका थिए।

ADVERTISEMENT

अर्थमन्त्री वाग्लेले अन्य विजेतासँग पनि सम्पर्क गर्ने प्रयास गरिएको भए पनि सबैसँग तत्काल सम्पर्क हुन नसकेको जानकारी दिए। सरकारले साउन १ गतेदेखि लागू गरेको करदाता प्रोत्साहन कार्यक्रमअनुसार अनलाइन माध्यमबाट वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुन्छन्।

नगदमा खरिद गर्ने उपभोक्ताले भने भ्याट वा प्यान बिल लिएपछि आन्तरिक राजस्व विभागको उपहार पोर्टलमा दर्ता गर्नुपर्ने व्यवस्था छ। यस कार्यक्रमअन्तर्गत हरेक दिन एक जनालाई करकट्टीपछि १ लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा दुई जनालाई १०–१० लाख रुपैयाँ नगद प्रोत्साहन प्रदान गरिने व्यवस्था गरिएको छ। विजेताको घोषणा प्रत्येक महिनाको १६ गते र अन्तिम दिन गरिनेछ।